काठमाडौं–बिहीबार रातिदेखि परेको पानीसँगै आएको पहिरोले बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । रूपन्देही र पाल्पाको सीमाक्षेत्रमा रहेको माथिल्लो सिद्धबाबा मन्दिर नजिकै माथिबाट ढुंगा झरेको छ भने मदनपोखरा गाउँपालिका भालेबासमा सडकमाथिबाट पहिरो झरेको छ ।


ADVERTISEMENT


सिद्धबाबामा अहिले ५ बजे र भालेबासमा ४ बजे पहिरो खसेको प्रहरीले जनाएको छ । गतवर्ष ढुंगे पहिरो नियन्त्रण गर्ने भन्दै रकनेट र रकसेट प्रयोग गरिएको माथिल्लो सिद्धबाबा मन्दिर नजिकै छहरादेखि माथिबाट ठूलो ढुंगा झरेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । भालेबासमा भने ढुंगामाटो सहितको पहिरो झरेको छ ।


ADVERTISEMENT

# # #


सडक अवरुद्ध भएपछि सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पाल्पा, स्याङजा, पोखरा, गुल्मी, अर्घाखाँचीलगायतका स्थानमा जाने र आउने सवारी साधन बिच बाटोमा रोकिएको पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

अहिले पनि लगातार पानी परेका कारण पहिरो हटाउन नसकिएको प्रहरीले जनाएको छ । जेठ महिना लागेपछि मात्रै दैनिक जसो पहिरो झर्ने र सडक अवरुद्ध हुन थालेपछि बुधबार मात्रै भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठ र सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठ लगायतको टोलीले पहिरो गईरहने क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए ।