महेन्द्रनगर, धनुषा– धनुषासहित मध्य तथा पूर्वी तराईमा पछिल्लो चार–पाँच दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ ।


ADVERTISEMENT


वायुमण्डल सफा रहँदा सूर्यको किरणले जीउ नै पोल्ने गरी बढेको तापक्रम अझै केही सातासम्म बढ्ने जलवायु तथा मौसम कार्यालयले जनाएको छ । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्किनसमेत समस्या उत्पन्न भएको छ ।


ADVERTISEMENT

# # #


अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ । वायुमण्डलीय तापक्रम बढी रहँदा मंगलबार जनकपुरको तापक्रम यस सिजनकै सबैभन्दा बढी ३८।८ डिग्री सेल्सियस मापन गरिएको छ । गत वर्ष २०७४ को असारमा जनकपुरमा पछिल्लो पाँच वर्षकै सबैभन्दा बढी ४२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।

जलवायु तथा मौसम कार्यालय जनकपुरका प्रमुख मुनेश मिश्राले मध्य तथा पूर्वी तराईका जिल्लामा अझै केही साता तापक्रम बढ्ने क्रममा रहने जनाए। वैशाख–जेठमा अत्यधिक गर्मीकै प्रकोपबाट बच्न निजी तथा सामुदायिक विद्यालयले बिहानको सत्रमा पठनपाठन सञ्चालन गर्ने गरेका छन् । यद्यपि विद्यालयबाट फर्किने समय मध्याह्न पर्दा गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्दै आएको छ ।

गर्मी बढ्दा चिसो पेयपदार्थसँगै फलफूल जुसको व्यापार बढेको छ । मध्याह्न र अपराह्न सरकारी कार्यालयसहित बजारमा सर्वसधारणको उपस्थिति पातलिएको छ । गर्मी छल्न पेयपदार्थ पिउनेसँगै सर्वसाधारणले अन्य उपाय अपनाउँदै आएका छन् ।

नियमित विद्युत् आपूर्ति नहुँदा बढ्दो गर्मीमा सर्वसधारण झनै पिरोलिएका छन् । छाला ढाक्ने कपडा लगाउन, घाममा हिँड्दा नियमित अन्तरालमा बसेर शीतल पानीले हात मुख धुने जस्ता सुझाव चिकित्सकको छ । उनीहरु पानी बढी पिउने, सक्दो प्राकृतिक हावा अथवा छहारीमा बस्ने, घाममा निस्कँदा छाता लगाएर निस्किन सुझाउँछन् ।

नियमित पानी पर्दा वायुमण्डलीय तापक्रम घटाउन सहयोग गर्ने भएपनि पछिल्लो एक सातामा पानी परेको छैन । मनसुनको कतै कुनै अत्तोपत्तो छैन जसले गर्दा गर्मी बढ्ने क्रममा रहँदा सर्वसाधारण अझै बढी छटपटिएका छन् । लु लागेर ज्यानै जान सक्ने सम्भावना पनि रहने हुँदा अत्यधिक गर्मी महसुश भएमा सतर्कता अपनाउनुपर्ने बताइएको छ ।