भक्तपुर– नेपाली काँग्रेसका नेता कृष्ण सिटौलाले आसन्न स्थानीय तहको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्नुपर्ने दायित्व सबै मतदाताको काँधमा आएको बताएका छन् ।

काँग्रेस चाँगुनारायण नगर समितिले आज खरिपाटीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने– “अब जनताको अधिकार घरदैलोमै आउने भएकाले यो चुनावलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्नुपर्छ ।”


ADVERTISEMENT

# # #


नेता सिटौलाले देशलाई सङ्कट पर्दा काँग्रेसले नै सङ्कटको समाधान गर्दै आएको बताउँदै अहिलेको राजनीतिक अस्थिरता र सङ्कट समाधानका लागि पनि काँग्रेसको नेतृत्व आवश्यक रहेको छ भने । नेपालमा शान्ति स्थापना र संविधान निर्माणको नेतृत्व काँग्रेसले लिएको हुँदा संविधान कार्यान्वयनका लागि पनि स्थानीय तहको निर्वाचनमा काँग्रेसको जित आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकामा काँग्रेसका प्रमुखमा उम्मेदवार राजाराम खड्काले चाँगुनारायणको समग्र विकासका लागि आफूले उम्मेदवारी दिएको बताउँदै आफ्नो जितका लागि सहयोगको अपेक्षा गरेको बताए ।

काँग्रेसकी उपप्रमुखकी उम्मेदवार सरु बानियाँले महिला उत्थान र स्थानीयवासीको समस्या समाधानका लागि आफू लागिपर्ने बताइन् ।

प्रतिकृया

प्रतिकृया