म्याड्रिड–लिभरपुलका स्टार मोहमद शलाहलाई घाइते बनाएको भन्दै रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोशमाथि कारवाही माग गर्दै हस्ताक्षर अभियान शुरु गरिएको छ । हुनतः मैदान र मैदानबाहिर उनको व्यवहारको कारण म्याड्रिड बाहिर हुने आलोचना रामोशका लागि कुनै नौलो कुरा होइन ।
र, च्याम्पियन्स लिगको फाइनलमा शलाहलाई लडाएपछि उनी ‘दुश्मन नम्बर १’ भएका छन् । उक्त खेल रियलले ३–१ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । इजिप्टका खेलाडीलाई रामोशले तानेर लडाउँदा उनी अप्ठ्यारो तरिकाले काँधमा बजारिन पुगेका थिए । उनले रुँदै मैदान छाडेका थिए ।
अहिले उनले विश्वकपमा खेल्ने सम्भावनामा पनि प्रश्न उठ्न थालेको छ । युईएफए र फिफालाई कारवाहीको माग गर्दै चेन्ज डट ओआरजीमा शुरु गरिएको याचिकामा २ लाख बढी हस्ताक्षरहरु संकलन भइसकेको छ ।
अबदेल हकिमले शुरु गरेको अभियानमा रामोशले शलाहलाई लडाउनुका साथै लिभरपुलका साडियो मानेलाई गलत पहेँलो कार्ड दिन भूमिका पनि खेलेको आरोप लगाइएको छ ।
‘सर्जियो रामोश भविष्यका फुटबल खेलाडीहरुका लागि लगत उदाहरण हुन्,’ उनले भनेका छन्, ‘सही तरिकाले खेल जित्नुभन्दा उनी खेलको भावनाविपरित विभिन्न चालबाजी गर्छन् ।’
खेलपछि रामोशले ट्वीटरमार्फत शलाहलाई सन्देश दिँदै शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।
यता, शलाहले आफूलाई ‘फाइटर’ बताउँदै रसियामा विश्वकपमा आफू फर्कने बताएका छन् ।
It was a very tough night, but I'm a fighter. Despite the odds, I'm confident that I'll be in Russia to make you all proud. Your love and support will give me the strength I need. pic.twitter.com/HTfKF4S70e
— Mohamed Salah (@MoSalah) May 27, 2018