काठमाडौं–गतसाता काठमाडौंबाट साढे ३३ किलो सुन गायब र सनम हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परे । रेडकर्नर नोटिस नै जारी गरेर विश्वका १ सय ९२ देशको सूचीमा रहेका गोरे काठमाडौंको गौरीघाट क्षेत्रबाटै पक्राउ परेको गृह मन्त्रालयले बनाएको विशेष छानबिन समितिले जनाएको छ ।
माघमा युएईबाट आएको साढे ३३ किलो सुन अनामनगरबाट गायब भएपछि त्यसैसँग जोडिएर सनम शाक्यको हत्या भयो । थाइ एयरवेजका कर्मचारी सानु बनको विमानस्थल परिसरमै दुर्घटनामा ज्यान गयो भने नेपाल एयरलाइन्सका कर्मचारी प्रेमनारायण चौधरीले प्रहरी हिरासतमै आत्महत्या गरे । सुन तस्करी र सनम शाक्यको हत्यामा संगठित गिरोह नै लागेको भन्दै मोरङ प्रहरीले जिल्ला अदालतमा संगठित अपराध ऐन अन्तर्गत मुद्दा दायर गरेको छ ।
पक्राउ परेका ३० जनामध्ये २८ जना गोरे पक्राउ परेकै दिन अर्थात गत मंगलबार पूर्पक्षका लागि जेल चलान भए । योबीचमा सर्वाधिक खोजीमा रहेका गोरे पनि पक्राउ परे । तर सुन तस्करीको रहस्य, लगानीकर्ता, हराएको सुनको भने अझै पत्तो छैन । समितिले एकपछि अर्को गर्दै पक्राउ गरी सोधपुछ पनि जारी राखेको छ ।
गोरले आफू पनि भरिया भएको बयान दिएपछि सुन ओसारपसारमा संलग्न मुख्य व्यक्ति को होला त ? को पक्राउ परेपछि सम्पूर्ण नालीबेली सार्वजनिक हुन सक्ला ? यो नै अहिलेको मुख्य चासोको विषय बनेको छ ।
गृह सह–सचिव ईश्वराज पौडेल नेतृत्वको उच्चस्तरिय छानविन समितिले चुडामणि उप्रेती गोरेलाई मुख्य अभियुक्त भएको निष्कर्ष निकाल्यो । अन्य केही चर्चित पात्र एमके अग्रवाल, रमेश उप्रेती, एसएसपी श्याम खत्री लगायत फरार छन् । समितिले यो प्रकरणमा नेपाल प्रहरीका बहालवाला एसएसपीदेखि पूर्वडीआईजीसम्मलाई पक्राउ गर्यो ।
गोरे समातिएपछि सबै पोल खुल्छ भन्ने सोेचेको समितिले अझै अपेक्षाकृत नतिजा हात पार्न नसकेको ती सदस्य बताउँछन् । यस्तोमा सुन तस्करीको मालिक को होला त ? नेपालभित्र र बाहिरका क–कसको संलग्नता छ ? समिति अनुसन्धानकै क्रममा भए पनि निष्कर्षमा पुग्न सकेको छैन ।
केही राजनीतिक व्यक्ति रहेको आशंका गरिएको पनि अनुसन्धानमा पुष्टि नभई पक्राउ गर्न नसक्ने अवस्थामा समिति रहेको छ । “आशंकाको भरमा पक्राउ गर्ने कुरा भएन,” स्रोतले भन्यो, “अनुसन्धान गर्दै जाँदा पुष्टि भयो भने अझै माथिल्लो तहसम्म पुग्न सक्छौं ।”
गोरेकै बयानले अलमल
गोरेसँग समितिले पक्राउ परेको केही समय सोधपुछ पनि गर्यो । तर गोरेको बयान पत्याउन गाह्रो भएको ती सदस्य बताउँछन् । गोरेले आफु म्यानेजर मात्रै भएको र आफुभन्दा माथी अरु रहेको भन्दै भुजुङ, श्याम खत्री र एमकेको नाम लिए । गोरेलाई सार्वजनिक गरेको दिन पत्रकार सम्मेलनमा गृह–सहसचिव ईश्वरराज पौडेलले पनि सुन र सनम हत्या प्रकरण ‘जेरी जस्तै’ जेलिएको बताएका थिए ।
स्रोतका अनुसार गोरेले अहिले प्रहरीका उच्च अधिकारी को कसको संलग्नता थियो भन्ने कुरा श्याम खत्रीले मात्रै बताउन सक्ने बयान दिएका छन् ।
४ महिनामा पनि भेटिएन सुन
गृह मन्त्रालयको छानबिन समितिले गायब भएको साढे ३३ किलो सुन गत माघ ९ गते नै नेपाल भित्रिएको जनाएको छ । तर सुन कहाँ छ ? यसको जवाफ पाउन सकिएको छैन । अहिलेसम्म पक्राउ परेकाले सुनबारे फरक–फरक बयान दिए पछि सुन कहाँ र कोसँग छ भन्ने बताउन सकेका छैनन् ।