काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रबाट लगानीअनुसार राम्रो प्रतिफल आउन नसकेको बताएका छन् ।


ADVERTISEMENT


उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले आयोजना गरेको ‘पाँचौँ कान्तिपुर हिसान शैक्षिक मेला’को आज उद्घाटन गर्दै उनले व्यवस्थापकीय कमजोरी र गुणस्तरीय शिक्षामा ध्यान दिन नसक्दा शिक्षा क्षेत्रमा धेरै लगानी भए पनि राम्रो प्रतिफल प्राप्त हुन नसकेको बताए ।


ADVERTISEMENT

# # #


उनले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउँदै गुणस्तरीय शिक्षाका लागि कोहीसँग पनि सरकारले सम्झौता नगर्ने दृढता व्यक्त गरे ।

मुलुकलाई चाहिने जनशक्ति उत्पादन हुने खालको र जीवनोपयोगी शिक्षा दिन सरकार कटिबद्ध रहेको पनि उनले उल्लेख गरे ।
“अहिले हामी देश विकास गर्न कस्ता जनशक्ति चाहिन्छ भनेर छलफल गरिरहेका छौँ,” उनले भने, “अब हामी मुलुकलाई चाहिने जनशक्ति मात्र उत्पादन गर्छौँ । ती जनशक्तिले आमाबुबाका साथै मुलुकको सपना पूरा गर्नेछन् ।”

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सरकारी, सामुदायिक र निजी क्षेत्र मिलेर नेपालको शिक्षा क्षेत्रलाई सुधार गर्न आवश्यक रहेको धारणा व्यक्त गरे। उनले अबको दुई वर्षभित्र विद्यालय नजाने बालबालिका मात्र निरक्षर रहने बताए ।

“निजी शैक्षिक संस्थाको शिक्षामा योगदान छ भन्दैमा उनीहरुले जथाभावी शुल्क लिन पाउँदैन,” उनले भने – “निजी शिक्षण संस्था नोक्सानमा जानुस् भनेर भनेको होइन । धेरै नाफा नखोज्नुस् भनेको हुँ ।”

प्रधानमन्त्री ओलीले सरकार लोकप्रियता हासिल गर्न नभई लोकप्रिय काम गर्न बनेको पनि स्पष्ट गरे । कार्यक्रममा हिसानका अध्यक्ष रमेश सिलवालले सरकारसँग निजी क्षेत्र मिलेर काम गर्न तयार रहेको बताए । उनले विद्यार्थीलाई अध्ययनका लागि बाध्यतामाबाहेक विदेश जान नपर्ने वातावरण बनाउन आफूहरु लागिपरेको र स्वदेशमै गुणस्तरीय शिक्षा दिइरहेको जानकारी गराए ।

स्वदेशमै विदेशमा पाइने शिक्षा पाइन्छ भन्ने सन्देश दिन शैक्षिक मेला आयोजना गरिएको मेला संयोजक लोकबहादुर भण्डारीले जानकारी दिए।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस मेलामा १५० भन्दा बढी कलेजको सहभागिता रहेको छ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा तीन दिनसम्म सञ्चालन हुने यस मेलामा करीब दुई लाख विद्यार्थी तथा अभिभावकले अवलोकन गर्ने अनुमान गरिएको छ ।