बागलुङ– विदेशमा प्रियजन गुमाउने नेपाली परिवारको वेदनामा आधारित लोकगीत ‘बोल माया’ अहिले चर्चामा छ ।


ADVERTISEMENT


बागलुङका सर्जक प्रकाश सपूतले निर्माण गरेको उक्त गीत अहिले युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर १मा छ । सार्वजनिक भएको छ दिनमै उक्त गीत नेपालमा १२ लाखभन्दा बढी पटक युट्युबमा हेरिएको छ । धेरैपछि नेपाली लोकगीत ‘युट्युब टे«डिङ’ को १ नम्बरमा आएको छ ।


ADVERTISEMENT

# # #


सामाजिक विषयवस्तु, मौलिक रचना र प्रस्तुतीकरणका कारण उक्त गीतलाई सर्वाधिक रुचाइएको छ । नेपालमा मात्र नभएर विदेशमा पनि गीतले उत्तिकै दर्शक, स्रोता कमाएको छ । कतार र संयुक्त अरब इमिरेट्समा मा पनि उक्त गीत युट्युब टे«डिङको धेरै अगाडि आएको छ । गीतले विदेशमा रहेका नेपालीको जीवन भोगाइलाई जीवन्त ढङ्गले उठान गरेको छ । “गीतमा हाम्रै समाजको विषयवस्तु चित्रण गरिएको छ”, सर्जक सपूतले भने, “छोटो समयमै धेरैले मन पराउनुभएको छ, प्रतिक्रिया राम्रो आएको छ ।”

विषयवस्तुको छनोट र प्रस्तुतीकरणमा ध्यान दिन सके सफल होइने पाठ आफूले सिकेको सपूतको भनाइ छ । सपूत आफैँ निर्माता रहेको गीतमा रचना, संगीत, स्वर, अभिनय र छायाङ्कन निर्देशनसमेत उनकै छ । गीतमा मूल स्वर भने लोकगायक नारायण रायमाझी र गायिका शान्तिश्री परियारको छ । गीतको अन्तिम खण्डमा मात्र सपूतको स्वर सुन्न पाइन्छ । गीत रचना, संगीत र स्वरसँगै म्युजिक भिडियो निर्माणले पनि गीतलाई न्याय गरेको छ ।

गीतको मर्म र भावलाई भिडियोमा जीवन्त ढङ्गले उतार्न निर्देशकका हिसाबले सपूत सफल देखिनुभएको छ । भिडियो हेर्ने जो कोहीलाई कलाकारको अभिनय र घटनाको प्रस्तुतीकरण नाटकीय लाग्दैन । “यथार्थ र वास्तविकता दिने कोशिश गरेका छौँ”, सर्जक सपूतले भने, “आफ्नै घरगाउँमा छायाङ्कन गरिएकाले पनि धेरै सजिलो भयो ।” भिडियोको छायाङ्कन सपूतकै जन्मथलो बागलुङ धम्जामा गरिएको थियो ।

भिडियोमा मुख्य अभिनय सपूतबाहेक अञ्जली अधिकारी र सीतारे गन्धर्वको छ । सर्जक सपूतलाई धम्जामै यसअघि विदेशमा मृत्यु भई शव आएका दुई घटनाले आफ्नै गाउँमा भिडियो छायाङ्कन गर्न प्रेरित गरेको थियो । “हाम्रै गाउँमा भएका घटनाले पनि गीत निर्माणमा संवेदनशील बनायो”, उनले भने, “गीतका कतिपय दृश्य खिंच्न अरुको घरमा असहज थियो ।”

विदेशबाट काठको बाकसमा शव आएको, परिवार र आफन्तजनले रातभर शव कुरेको, शवअघि विक्षिप्त हुँदै श्रीमतीले बिलौना गरेको जस्ता दृश्य भिडियोमा छन् । धन ल्याउने आशामा विदेश गएका श्रीमान्को शव आएपछि श्रीमतीले गर्ने बिलौना नै गीतको केन्द्रीय भावभूमि हो । मर्मस्पर्शी शब्द, संगीत र स्वरसँगै कलाकारको जीवन्त अभिनयले गीतमा प्राण भरेको छ ।

पाश्चात्य गीतसंगीत हावी भइरहेका बेला नेपाली मौलिक लोकगीतका स्रोता र दर्शक पनि उत्तिकै छन् भन्ने प्रमाण यस गीतले पेश गरेको छ । पृथ्वी इन्टरटेनमेन्ट र भाका नेपाल प्रालि सहनिर्माता रहेको उक्त गीतको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गत शुक्रबार काठमाडौँमा विमोचन गरेका थिए । रामबहादुर थापा/रासस