काठमाडौं–कर्णाली प्रदेशको उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिवमाथि हातपातको प्रयास भएको छ । बुधबार मन्त्री नन्दसिंह बुढाका स्वकीय सचिव डम्बर बुढासहितका व्यक्तिहरुले मन्त्रालयका सचिव विद्यानाथ झामाथि हातपात गर्ने प्रयास गरेका हुन् । कार्यकक्षमै स्वकीय सचिव बुढा, साथमा जगत सिंह, हरिप्रसाद तिवारीलगायतले सचिव झामाथि हातपातको प्रयास गरे ।


ADVERTISEMENT


हातपात प्रयास गरेका तीनै जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ गरेको केही समयपछि छाडिएको प्रहरीले जनाएको छ । मन्त्रीका स्वकीय सचिव बुढासहितका केही युवाहरुले मदिरा सेवन गरेर आफूमाथि हातपात गर्न खोजेको मन्त्रालयका सचिव झाले बताए ।


ADVERTISEMENT

# # #


सुरक्षाका लागि खटिएका सशस्त्र बन रक्षकका जमदारले बाहिरबाट ढोका बन्द गरेकाले हातपात हुनबाट आफू बचेको उनले बताए ।

बैशाख १ गते कर्णाली प्रदेश सरकारले सुरु गरेको कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनका क्रममा व्यक्तिगत रकम खर्च भएको भन्दै स्वकीय सचिव बुढाले सचिव झासँग रकम माग्ने गरेको र आफूले ‘अनियमित रकम’ भएकाले दिन नमिल्ने बताएपछि युवाहरुलाई ल्याएर आफूमाथि कुटपिट प्रयास भएको सचिव झाले बताए ।

झाले आफूमाथि हातपात हुन लागेको जानकारी गराएपछि प्रहरी टोली पठाएर तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामसिंह चौधरीले बताए । पक्राउ परेकाहरुबाट प्रायस भएपनि हातपात नभैसकेको पाईएपछि छोडिएको चौधरीले जानकारी दिए ।