काठमाडौँ– नयाँ कार्यक्रम समावेश नगरी जेठ १५ मै कामचलाउ बजेट ल्याउन प्रमुख तीन दलबीच भएको सकारात्मक भएको नेताहरुले बताएका छन् । साथै दोस्रो चरणको चुनाव पूर्वघोषित मितिमै हुनेछ ।


ADVERTISEMENT


प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा महाअभियोगका साथै बजेट, मतगणना र दोस्रो चरणको चुनावबारे कुराकानी भएको थियो ।


ADVERTISEMENT

# # #


नेताहरुका अनुसार जेठ १५ मै कामचलाउ बजेट ल्याउन तीन दल सहमति नजिक पुगेका छन् । यद्यपि विपक्षी दलका नेता ओलीले बजेट र दोस्रो चरणको चुनावबारे आफ्नो पूर्ववत् अडान राखेका छन् । एमालेले जेठ १५ मा बजेट ल्याउनु पर्ने र दोस्रो चरणको चुनाव बजेट अघि नै गर्नु पर्ने अडान राख्दै आएको छ । बैठकमा सहभागी एक नेताले भने, ‘बजेट कामचलाउ भएपछि अडान छाडेको जस्तो देखिन्छ ।’

एमालेले चुनाव अगाडि बजेट ल्यायो भने त्यसले चुनावलाई प्रभाव पार्ने भन्दै विरोध गर्दै आएको थियो। बालुवाटार बैठकमा कांग्रेस–माओवादीले जेठ ३१ को चुनाव अब अगाडि सार्न सम्भव नभएको जिकिर गरेका थिए। त्यस्तो हो भने संविधानमै मिति तोकिएको बजेट पनि जेठ १५ बाट सार्न नमिल्ने भन्दै त्यसको विकल्पमा जेठ १५ गते प्रशासनिक खर्च मात्र धान्ने गरी कामचलाउ बजेट ल्याउन ओलीले सुझाव दिएका थिए।

दोस्रो चरणको चुनाव जेठ ३१ मै 

जेठ १५ मा बजेट ल्याउनुपर्ने र बजेट अघि नै चुनाव गर्नु पर्ने एमालेको अडानपछि दलहरुबीच दोस्रो चरणको चुनाव सार्नेबारे छलफल सुरु भएको थियो ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच केही दिनअघि सिंहदरबारमा भएको भेटमा पनि यसबारे कुराकानी भएको थियो । र, माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले अन्य दलसँग परामर्श गर्ने जवाफ दिएका थिए । तर, अब जेठ ३१ को चुनाव सार्ने सम्भावना टर्दै गएको छ । निर्वाचन आयोग स्वयंमले दोस्रो चरणको चुनाव बजेट अगाडि सार्न नसकिने बताएको छ ।

अब दोस्रो चरणको चुनाव पूर्व घोषित मिति जेठ ३१ मै हुने सम्भावना बढेको छ । यद्यपि यसबारे दलहरु छलफलमै रहेकाले अन्तिम निर्णय हुन बाँकी रहेको एक नेताले बताए ।

पहिलो चरणको निर्वाचन सकिएलगत्तै मतगणना: ओली

पार्टीहरूबीच पहिलो चरणको चुनावपछि मतगणना कहिले गर्ने भन्नेमा विवाद छ। निर्वाचन आयोगले पहिलो चरणको चुनाव सकिनेबित्तिकै मतगणना गर्ने भने पनि एमालेले दुवै चरण नसकी गर्न नहुने बताउँदै आएको थियो।

कांग्रेस र माओवादी केन्द्र पनि दुवै चरणको चुनाव सकिएपछि मतगणना गर्नुपर्ने पक्षमा छन्। आइतबार साँझ बालुवाटारमा भएको बैठकमा भने एमाले अध्यक्ष केपी ओलीले पहिलेको अडान छाडेर पहिलो चरणको चुनाव सकिनेबित्तिकै मतगणना गरौं भन्ने प्रस्ताव राखे। कांग्रेस तथा माओवादी केन्द्रका नेताले त्यसमा खासै प्रतिक्रिया जनाएनन्।