काठमाडौं  । नेपाल प्रहरीको नयाँ नेतृत्व चयनको विषयमा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि आफ्नो अडानबाट पछि हट्दै डिआइजी जयबहादुर चन्दलाई आइजी बनाउन तयार भएका छन्। फागुन ३ गतेदेखि रिक्त हुन लागेको नेपाल प्रहरीको महानिरीक्षक पदमा चन्दलाई बढुवा गर्ने प्रस्ताव तयार गर्न गृहमन्त्री निधिले गृहसचिवलाई निर्देशन दिएको गृह उच्च स्रोतले सेतोपाटीलाई बतायो।


ADVERTISEMENT


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरीको नयाँ नेतृत्वमा चन्दलाई बढुवा गर्ने अडानमा अडिग रहेपछि डिआइजी नवराज शिलवालको पक्षमा उभिदै आएका गृहमन्त्री निधि आफ्नो अडानबाट पछि हटेका हुन्।


ADVERTISEMENT

# # #


यसअघि नवराज सिलवाललाई आइजिपी नियुक्त गर्ने प्रस्ताव लिएर निधि अघिल्लो साता देउवा निवास पुगेका थिए। स्रोतका अनुसार देउवाले कुनै हालतमा सिलवाललाई नियुक्त नगर्न निधिलाई चेतावनी दिए। सिलवालको सट्टा चन्दलाई आइजिपी नियुक्त गर्न देउवाले अह्राए। निधिले मानेनन्। चन्दलाई नियुक्त नगर्ने हो भने गृहमन्त्रीबाटै राजीनामा दिन देउवाले भनेका थिए। देउवाको यो असहमतिपछि निधि उठेर हिँडेका थिए।त्यसपछि पनि निधि सिलवालकै पक्षमा उभिँदै आएका थिए।

देउवाले यही माघ १९ गते बसेको नेपाली कांग्रेसका पदाधिकारी तथा मुख्य नेताहरुको अनौपचारिक बैठकमा समेत उक्त विषय उठाएका थिए। बैठकमा देउवाले ुआइजिपी नियुक्तिमा गृहमन्त्रीले पार्टी सभापतिको निर्देशन मान्नुपर्नेु कुरा राखेका थिए। निधि समेत उपस्थित उक्त बैठकमा कांग्रेस महामन्त्री सशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहले देउवालाई साथ दिएका थिए। गृहमन्त्री निघि भने आफ्नो अडानबाट पछि हट्न मानेका थिएनन्।

गत बिहीबारको मन्त्रिपरिषद बैठकले आइजिपी नियुक्त गर्ने संकेत पाएपछि देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बालुवाटारमा भेटेर गृहमन्त्रीले नियुक्तिको प्रस्ताव ल्याए त्यसलाई अघि नबढाउन अनुरोध गरेका थिए। कांग्रेस र माओवादी केन्द्रबीच पहिल्यै नेपाल प्रहरीको आइजिपी कांग्रेसले र सशस्त्र प्रहरीको आइजिपी माओवादीले नियुक्त गर्ने सहमति भइसकेको छ।

देउवाले आइजिपी नियुक्ति कांग्रेस पार्टीको निर्णयअनुसार हुनुपर्ने दाहाललाई बताएका थिए। दाहालले कांग्रेसभित्र सहमति नभई आइजिपी नियुक्ति अघि नबढाउने बचन देउवालाई दिएका थिए। स्रोतका अनुसार देउवाले दाहाललाई ुआवश्यक परे गृहमन्त्री फेर्ने, तर गृहमन्त्रीको प्रस्तावमा आइजिपी नियुक्त नगर्नूु समेत भनेका थिए।

कांग्रेस सभापति देउवा र गृहमन्त्रीबीच आइजिपीको विषयमा विवाद बढ्दै गएपछि प्रधानमन्त्री दाहालले अन्य कांग्रेस नेताहरुलाई यो विवादको निकास निकाल्न सहयोग गरिदिन आग्रह गरेका थिए। ‘दुवै जनाले अड्डी नछाड्ने हो भने आइजिपीको तेस्रो वा चौथो दाबेदारलाई नियुक्त गर्न पनि प्रधानमन्त्रीले सुझाउनुभएको थियो,’ एक कांग्रेस नेताले भने।

पछिल्लो समय दुई नेताबीच बढ्दै गएको तिक्ततालाई साँघूरो बनाउन सरकारमा रहेका देउवा पक्षमा मन्त्रीहरू बालकृष्ण खाँड र प्रकाशशरण महतलगायतका नेताहरूले दुबै नेताहरूको बिचमा समन्वयको काम गरेका थिए।

पछिल्लो पटक बुधबार देउवा र निधिलाई सँगै राखेर महतहितका नेताहरू छलफलमा थिए।

त्यसको भोलिपल्ट बिहिबार बिहान देउवासँगको सहमति अनुसार कार्यालय पुगेलगत्तै गृहमन्त्री निधिले गृह सचिव लोकदर्शन रेग्मीलाई आइतबारको मन्त्रिपरिषद बैठकमा चन्दलाई बढुवा गर्ने प्रस्तावबारे तयारी गर्न निर्देशन दिएको मन्त्रालय स्रोतले बतायो।

वर्तमान आइजिपी उपेन्द्रकान्त अर्यालको पदावधि यही फागुन ३ गते सकिँदै छ। उनीसँगै सबै एआइजीहरुको पनि म्याद सकिने भएपछि बहालवाला चार डिआइजी सिलवाल, चन्द, प्रकाश अर्याल र बमबहादुर भण्डारी आइजिपीका दाबेदार थिए।

नेपाल प्रहरीको वरियता क्रममा डिआइजी नवराज सिलवाल पहिलो, प्रकाश अर्याल दोस्रो, जयबहादुर चन्द तेस्रो र बमबहादुर भण्डारी चौथो नम्बरमा छन्।

सशस्त्रको आइजीमा  श्रेष्ठ लगभग पक्का

यसैबीच सशस्त्र प्रहरीको नयाँ आइजीपीसमेत सरकारले आइतबार नै नियुक्त गर्ने तयारी गरेको छ।  सशस्त्रको आइजीका लागि पहिलो बरियतामा रहेका डिआएजी सिंहबहादुर श्रेष्ठको नाम प्रधानमन्त्री पुष्पकमल दाहालले सिफारिस गर्ने भएका छन्।

सशस्त्रमा एआइजीहरूमध्ये सिंहबहादुर श्रेष्ठ पहिलो, प्रेम शाही दोस्रो र प्रकाश ओझा तेस्रो वरियतामा छन्।

यसअघि नै सत्तारूढ दल नेपाली कांग्रेस र माओवादीबीच सशस्त्रको आइजीमा माओवादीले निर्णय गर्ने जनपथ प्रहरीको आइजीमा नेपाली कांग्रेस सभापति देउवाले सिफारिस गर्ने सहमति गरेका थिए।

सशस्त्रको आईजी पनि आगामी फागुन २ गतेबाट अवकाश पाउँदैछन्।