विराटनगर–३३ किलो सुन र सनम शाक्यको हत्या प्रकरणमा मोरङ जिल्ला अदालतमा थुनछेक बहस आइतबारदेखि जारी छ । जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलाशमा प्रतिवादी पक्षका वकिलहरुले बहस जारी राखेका छन् । प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता शभ्भु थापा, सुशील पन्त पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठ लगायत ६८ जना वकिल रहेका छन् । अहिलेसम्म ३५ जनाले बहस गरेका छन् ।


ADVERTISEMENT


प्रतिवादीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरुमध्ये सबैजसोले सनम शाक्य हत्याको प्रमाण भएपनि अन्य कुराहरुको प्रमाण नभएकाले साधारण तारेखमा रिहा गर्न माग गरेका छन् । बुधबार प्रतिवादी एसएसपी श्याम खत्रीका चालक प्रहरी जवान विष्णुबहादुर खड्काको पक्षमा बहस गर्दै वरिष्ठ अधिवक्ता हिक्मत पौडेलले घटनामा उनको संलग्नता नभएको जिकिर गरे ।


ADVERTISEMENT

# # #


बुधबार १० जना कानुन व्यवसायीले बहस गरेका छन् ।

अन्य प्रहरी अधिकारीको समेत बचाउ गर्दै उनले सनम शाक्यको हत्याबाहेक अरु सबै कुरा काल्पनिक भएको तर्क गरे । अभियोगपत्र आधारहीन र तथ्यहीन भएको उनको तर्क थियो । उनले संगठित अपराध ऐन अन्तर्गत मुद्दा चलाइएकोमा आपत्ति समेत प्रकट गरे ।

टेलिफोन कलका आधारमा मुद्दा चलाउन नमिल्ने बताउँदै गृह मन्त्रालयले बनाएको विशेष छानबिन समितिले प्रहरी जवान खड्कालाई यातना दिँदै, निधारमा पेस्तोल तेस्याउँदै र प्रलोभन दिँदै अनावश्यक बयान दिन लगाएको तर्कसमेत उनले गरे ।

उनको पक्षमा अधिवक्ता खगेन्द्र श्रेष्ठले पनि बहस गरे । यस्तै अन्य अधिवक्ताले पनि हराएको भनिएको सुन नै नभेटिएको अवस्थामा काल्पनिक कथा बनाएर अन्य प्रतिवादीमाथी मुद्दा चलाइएको जिकिर गरे ।

बहस केहीदिन लम्बिन सक्ने
मोरङ जिल्ला अदालत स्रोतका अनुसार प्रतिवादी पक्षमा वकिलहरुको थुनछेक लम्बिन सक्ने देखिएको छ ।

अधिवक्ताहरुलाई पुरानो कुरा नदोहोरिने गरी आफ्नो तर्क प्रस्तुत गर्न समय दिइएको छ । बहसमा सबै अभियुक्तलाई उपस्थित गराइएको छ । बुधबार पनि नेपाल प्रहरीका निलम्बित एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसी प्रजित केसी, संञ्जय राउत, सई बालकृष्ण सञ्जेल, पूर्वडीआईजी गोविन्द निरौला, भुजुङ गुरुङ लगायत सबै प्रतिवादी उपस्थित थिए ।

सुन मुद्दाले अन्य मुद्दा प्रभावित
सुन र सनम हत्या प्रकरणको मुद्दाले मोरङ जिल्ला अदालतमा अन्य मुद्दाको सुनवाई प्रभावित हुन थालेको छ । दैनिकजसो १४/१५ मुद्दा प्रभावित भएको मोरङ जिल्ला अदालतले जनाएको छ । बुधबार मात्रै १८ मुद्दा प्रभावित भएको जिल्ला अदालतले जनाएको छ ।