काठमाडौं – नेपालको दुईदिने धार्मिक भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौं टुँडिखेलस्थित सैनिक मञ्चमा गार्ड अफ अनर ले सम्मान गरिएको छ ।


ADVERTISEMENT


जनकपुरमा चार घण्टा बिताएर काठमाडौँ आइपुगेका मोदीलाई त्रिभुवन विमास्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गरेका थिए । त्यस पछि सिधै चुच्चेपाटीस्थित होटेल ह्यात गएका मोदीलाई भर्खरै टुँडिखेलमा गार्ड अफ अनर दिइएको हो । टुँडिखेलमा गार्ड अफ अनर पाउने मोदी दोस्रो विदेशी सरकार प्रमुख बनेका छन् ।


ADVERTISEMENT

# # #


यसअघि टुँडिखेलमा पहिलो पटक गत माघमा पाकिस्तानी प्रधानमन्त्री सहिद खकान अब्बासीलाई दिइएको थियो । सरकारले २००७ सालदेखि विदेशी अतिविशिष्ट पाहुनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा औपचारिक स्वागत र सम्मान गारत दिँदै आएको थियो।

मोदीले आजै राजीनितक भेटघाट गर्ने कार्यक्रम रहेको छ । मोदीले आजै राष्ट्रपति विद्या भण्डारी र उपराष्ट्रपति नन्द बहादुर पुनसंग पनि भेट्नेछन् । आज साँझ एक कार्यक्रमका बीच मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीले संयुक्त रुपमा ९ सय मेघावाट क्षमताको अरुण तेस्रो जल विद्युत् आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

नयाँ दिल्लीबाट सिधै जनकपुर आएका मोदीले जानकी मन्दिरमा विशेष पूजाआजा गरेका थिए । उनलाई नागरिक अभिनन्दन पनि गरिएको थियो । नागरिक अभिनन्दन सभालाई सम्बोधन गर्दै उनले प्रदेश नं २ लाई एक अर्ब रुपैयाको सहायता घोषणा गरेका छन् ।

यस्तै उनले सम्बोधनमा नेपाल र भारतबीचको सम्बन्ध त्रेतायुगदेखिको भएको बताएका थिए । उनले नेपाल र भारतको दुःख र सुख, आकांक्षा, सपना र संकल्प, मन र मन्दिर सबै एकै भएको बताएका थिए ।

उनी भोली बिहान ९ बजे मुक्तिनाथको दर्शन गरेर अपरान्ह स्वदेश फर्किनेछन् ।