काठमाडौं–मलेशियाका पूर्वप्रधानमन्त्री महाथिर मोहमदले सन् १९५७ देखि निरन्तर सत्तामा रहेको दललाई आम चुनावमा हराउँदै राजनीतिक पुनरागमन गरेका छन् । सरकार बनाउन ११२ सिट आवश्यक हुने ठाउँमा ११५ सिट जित्दै पूर्व प्रधानमन्त्री महातिर मोहम्मद नेतृत्वको विपक्षी गठबन्धनले आम चुनावमा ऐतिहासिक जित निकालेको हो ।


ADVERTISEMENT


९२ वर्षिय मोहम्मद नेतृत्वको गठबन्धनले गएको ६० वर्षदेखि सत्तामा रहेको बारिसन नेशनल (बिएन) गठबन्धनलाई हराएको हो । महाथिरले कुनै समयमा वर्षौ आफूले नेतृत्व गरेको बारिसन नाशिओनल पार्टी र आफैंले हुर्काएका नेता नजिब रजाकलाई चुनौती दिन राजनीतिबाट अवकाश लिने निर्णय फिर्ता लिएका थिए ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री नजिबको कार्यकाललाई लामो समयदेखिका भ्रष्टाचारका आरोपले छायाँमा पारिदिएको थियो। उनको शासनकालमा मलेशियाली नागरिकहरूले बढ्दो जीविकोर्पजन खर्च व्यहोर्नुका साथै जातीय तनावहरू पनि खेपेका थिए ।

बिबिसीका अनुसार मलेसियाबारेका एकदमै जानकार कैयौं विश्लेषकहरूका लागि समेत पछिल्लो चुनावी परिणाम आश्चर्यको विषय बनेको छ । बिएन र यो गठबन्धनको प्रमुख पार्टी, संयुक्त मलेसिया राष्ट्रिय संगठन (युएनएनओ) सन् १९५७ मा बेलायतबाट देश स्वतन्त्र भएदेखि नै सत्तामा थियो । तर गएको केही वर्षदेखि उसको लोकप्रियता घटेको थियो ।

महाथिरको जितले देश स्वतन्त्र भएदेखि सरकारको नेतृत्व गरिरहेको पार्टीको शासनकाल अन्त्य गरिदिएको छ । मोहम्मद अब मलेसियाको प्रधानमन्त्री बन्नेछन् । शपथ ग्रहण समारोह आउँदो बिहीबार हुने अपेक्षा गरिएको छ ।

उनी विश्व सबैभन्दा बढी उमेरको निर्वाचित नेता बन्नेछन् । यसअघि पदबाट हट्दा मलावीका पूर्व राष्ट्रपति हेस्टिङ्स बन्डा ९६ वर्षका थिए । त्यसै गरी अघिल्लो साल जिम्बाव्वेका नेता रोबर्ट मुगाबेले ९३ वर्षको उमेरमा पदबाट राजीनामा दिएका थिए ।

९२ वर्षको उमेरमा सत्तामा पुनरागमन गरेका महाथिरले त्यसै पनि इतिहासमा आफ्नो नाम दर्ता गराइसकेका छन् । महाथिरले सन् २००३ मा प्रधानमन्त्रीको पद छोडेका थिए । प्रधानमन्त्रीका रूपमा उनले दुई दशकभन्दा बढी समय सत्ता चलाएका थिए ।

चुनावको नतिजा घोषणा भएसँगै पार्टीका समर्थकले उत्सव मनाएका छन् ।