काठमाडौं–हिन्दु धर्मगुरु आचार्य श्रीनिवासले धार्मिक र साम्प्रदायिक हिंसा फैलाउने योजनाका साथ आफैंमाथि गोली हान्न लगाएको पाइएको छ । नयाँ दिल्ली जाने तयारीमा रहेका आचार्य सोमबार काठमाडौंबाट पक्राउ परेका छन् । सुनसरी बराह नगरपालिका ६ चक्रघट्टीस्थित लक्ष्मी बेङ्कटेस आश्रममा बस्दै आएका २४ वर्षीय आचार्यमाथि २५ चैत गते गोली प्रहार भएको थियो ।


ADVERTISEMENT


तर, अनुसन्धानका क्रममा आफैंले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरीले सोमबार नै आचार्यसहित गोली काण्डमा संलग्न अभियुक्तहरुलाई सार्वजनिक गरेको छ ।


ADVERTISEMENT

# # #


पक्राउ पर्नेमा चितवन भरपपुर बेलचोकका २९ वर्षीय माधव चौधरी र नवलपरासी गैंडाकोट ५ का ३२ वर्षीय खान र सन्तोष भन्ने लक्ष्मीराज अधिकारी छन् । चौधरी, आचार्यका अंगरक्षक हुन् र उनले नै गोली हानेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अधिकारीले भने पेस्तोल व्यवस्थापनको काम गरेका थिए ।

हिन्दूराज्य कायम गर्न विभिन्न समयमा आन्दोलन चलाएपनि सफल हुन नभएपछि हिन्दू धर्मावलम्बी र धर्म गुरुहरुलाई आन्दोलनका लागि उक्साउन आचार्य श्रीनिवास आफैंले योजना बनाएर गोली हान्न लगाएको पाइएको मोरङ प्रहरीका प्रमुख एसपी अरुण बिसीले जानकारी दिए ।

प्रहरीका अनुसार आचार्यले हातमा गोली हान्न भनेका थिए तर, गल्तीले छातीमा लागेको हो । अभियुक्त चौधरीले पुर्वयोजना अनुसार आफूले ५ मिटर टाढाबाट गोली प्रहार गरेको तर निशाना चुकेपछि दाहिने कुम छेउमा लाग्न गएको बताए ।

चितवनमा नै गोली प्रहार गर्ने प्रपन्च रचिएको भए पनि हतियार ब्यवस्थापन नहुँदा सफल नभएको पाइएको छ । घटनामाथि शंका नगरोस् भनेर उनीहरुले मंगोल आर्मीको नक्कली पर्चा समेत छरेका थिए । तर, प्रहरी अनुसन्धानका क्रममा आचार्य श्रीनिवासको पोल खुलेको छ ।

पक्राउ परेका माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई ज्यान मार्ने उद्योग मुद्दामा चलाइएको छ । तर, आचार्यमाथि के मुद्दा लगाउने छलफलमै छ ।

आचार्यका गतिविधि यसअघि पनि शंकास्पद थियो । केही समय अघि सुनसरीमा भएको हिन्दुवादीको प्रदर्शनमा आचार्यकै अगुवाईमा भारु बाँडिएको थियो । यसअघि उनले संविधान बनेको एक साताभित्र देशभरका चर्चहरुमा धावा बोल्ने धम्की दिएका थिए ।