धादिङ – कुखुराको विषाक्त सुली नदीमा मिसाउँदा स्याङ्जा गल्याङस्थित आँधीखोलाका जलचर सखाप भएका छन्। मेडिकल सञ्चालक एवं व्यवसायी खुमा अर्यालको खिलुङ कालिका एग्रो फार्मले आँधीखोलामा सुली मिसाउँदा हजारौं जलचर सखाप भएका हुन्।


ADVERTISEMENT


सुली गलाउन रासायनिक पदार्थ मिसाइएकाले विषाक्त भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा संलग्न भन्दै खिलुङ कालिका एग्रोका प्रबन्धक शोभाकान्त ढकालसहित चार जनालाई नियन्त्रणमा लिएको छ।


ADVERTISEMENT

# # #


प्रहरीले घटनास्थल पुगेर तयार गरेको रिपोर्टअनुसार वैशाख २१ गते राति खिलुङ कालिका एग्रो फार्मले सुली नदीमा मिसाएको थियो। यसका लागि प्रयोग गरिएको लु१क २२०३ नम्बरको लोडर प्रहरीले नियन्त्रणमा लिएको छ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला सुली थुपारेको खाल्डो भरिएपछि कम्पनीले नदीमा मिसाएको बताउँछन्। ‘डोजरले खनेर नदीमा मिसाएको देखिन्छ,’ निरौलाले भने, ‘माछा मरेको सत्य हो। कति मरेको विवरण तयार गर्न लागेका छौं।’

घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएर गल्याङ नगरपालिका बुझाइएको उनले बताए।

‘नगरपालिकाले अब फोहोरमैला व्यवस्थापन ऐनअनुसार कारबाही गर्छ,’ निरौलाले भने, ‘जलचर संरक्षण ऐन २०१७ ले नियन्त्रणमा लिएको व्यक्तिलाई स्थानीय सरकारमा बुझाउने व्यवस्था गरेको छ।’

यो घटनामा ३० हजार जति माछा मरेको स्थानीयको अनुमान छ।

‘डोजर लगाएर रातारात सुली आँधीखोलामा हालेछन्, पानी प्रदूषित भएर जलचर सबै मरेछन्। केही अझै छट्पटाएर बगिरहेका छन्,’ स्थानीय पिताम्बर सुवेदीले सेतोपाटीसँग भने, ‘३० हजार जति माछा मरे होलान्।’

सुवेदीका अनुसार बुटवल पावर कम्पनीको आँधीखोला जलविद्युत आयोजनाको बाँधमा मरेका माछा तैरिएका छन्। उनी १९ वर्षदेखि बुटवल पावर कम्पनीमा कार्यरत छन्।

‘ड्याम साइटभन्दा माथि साढे २ किलोमिटर क्षेत्रका माछा सखाप छन्। दुर्गन्ध फैलिएको छ। ड्यामको तालमा गएर माछा निकाल्नुपर्नेछ,’ सुवेदीले भने, ‘कालिगण्डकीको माछासमेत प्रभाव देखिएको छ।’

गल्याङ नगरपालिका मेयर भूपराज अधिकारीले घटनाबारे एग्रोका सञ्चालक खुमा अर्यालसँग कुराकानी भएको उल्लेख गरे।

‘दोषीलाई कारबाही गर्दा पनि मरेका माछा फर्केर आउँदैनन्,’ अधिकारीले भने, ‘उहाँको प्रतिनिधि आउनुभएको थियो। गल्ती स्वीकार गर्नुभयो। अब जेल पठाउने कुरा भएन। क्षतिपूर्ति गराउने हो।’

‘व्यवसायी हौं, कमी(कमजोरी भयो, दुस्खदायी घटना भयो। हामीलाई माया गर्नुस्,’ टेलिफोन कुराकानीमा अर्यालको भनाइ उद्धृत गर्दै अधिकारीले भने।

‘नदीमा फोहोरमैला गरेबापत् कस्तो कारबाही गर्ने हेर्छौं,’ अधिकारीले भने, ‘पानी सफा गरेर नयाँ माछाको भुरा हाल्छौं।’

जिल्ला प्रशासन कार्यालयले भने माछा मर्नुको कारण छानबिन गर्ने जनाएको छ। कार्यालयले मत्स्य विकास केन्द्र मिर्मीलाई माछा मर्नुको कारण अनुसन्धान गर्ने जिम्मा दिएको छ। गल्याङ नगरपालिकालाई पनि यथार्थ विवरण पठाउनू भनेको कार्यालयले जनाएको छ।

अर्यालले ६५ करोड रुपैयाँ लगानीमा स्याङ्जाको गलकोटमा खिलुङ कालिका एग्रो सञ्चालन गर्दै आएका छन्।

अर्याल भने सुलीका कारण माछा नमरेको दाबी गर्छन्।

‘एकीकृत कुखुरा फार्ममा सुली नै हालेर माछापालन गरिन्छ,’ अर्यालले सेतोपाटीसँग भने, ‘कसैले सुलीमा विषादी मिसाइदिएको हुनसक्छ वा के भएको हो छानबिन हुनुपर्छ।’

‘हामीले सुली व्यवस्थापनका लागि जग्गा भाडामा लिएर पोखरी बनाएका थियौं। त्यो ठाउँ चार महिनाअगाडि नै छाडिसकेका थियौं। पहिले पनि सुली नदीमा मिसाएको हो, केही भएको थिएन। यसपटक जग्गाधनीले सम्याउने भनेपछि केही पोखिएर नदीमा गएछ,’ अर्यालले भने।

स्थानीय दिनकर नेपालले भने सुली गलाउन विषादी प्रयोग भएको हुनसक्ने बताए। ‘यसैकारण सुली विषाक्त भइ जलचर मरेका हुन सक्छन्,’ उनले भने।