काठमाडौं – नबिल बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले मिड–कर्पोरेट एण्ड एसएमई हबको उद्घाटन गरेका छन् । हबले मिड–कर्पोरेट तथा साना तथा मझौला प्रकृतिका ब्यापार, उत्पादन र सेवाको काममा संलग्न व्यावसायीहरुलार्ई कर्जा सेवा प्रदान गर्ने बैंकले जानकारी दिएको छ ।


ADVERTISEMENT


हबले बैंकका देशभरीका विभिन्न शाखाहरुमा हुने प्रत्यक्ष तथा अप्रत्यक्ष लघुवित्त सम्बन्धी क्रियाकलापहरुलाई समेत अवलोकन गर्ने बैंकको भनाइ छ ।


ADVERTISEMENT

# # #


मिड–कर्पोरेटले एउटा इकाई तथा समुहलाई ३ करोड रुपैयाँदेखि १० करोड रुपैयाँसम्मको कर्जा प्रवाह गर्नेछ । यस्तै लघुवित्तले कुनै ब्यक्ति तथा इकाईलाई प्रत्यक्ष रुपमा प्रदान गर्ने कर्जालाई समेट्ने छ । त्यसैगरी होलसेल कर्जाले एमएफआई र सहकारी लगायत एमएफआइमा गरिने सेयर लगानीलाई समेत समेट्ने छ ।

नबिल बैंक तथा युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्राम (सक्षम) ले लघु तथा साना र मझौला ब्यवसायको क्षेत्रमा वित्तीय पहुँचलाई विस्तार गर्नको लागि हातेमालो गरेका हुन् ।

देशमा सञ्चालित लघु, साना र मझौला ब्यवसायमा गरिने लगानीमा पहुँच बढाउने उद्घेश्यका साथ विशेष एसएमई कर्जा ईकाई स्थापना गरिएको छ । ग्रामीण भेगमा लघु, साना तथा मझौला ब्यवसायमा लगानी गरी त्यस क्षेत्रको प्रवर्धनको लागि बैंकले सक्षमसँग मिलेर काम गर्न लागेको हो । सो लक्ष्य प्राप्तिको लागि आइतबार हबको उद्घाटनसँगै बैंक र सक्षमका बीचमा सहमतिपत्र हस्ताक्षर भएको छ ।

बैँकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिल शाहले मिड–कर्पोरेट एण्ड एसएमई हबको उद्घाटन र सक्षमसँग समझदारीपत्रमा भएको हस्ताक्षरले देशभरी एसएमई तथा मिड–कर्पोरेट कर्जाको हिस्सालाई विस्तार गर्नको लागि बैंकले गरेको प्रतिवद्धतालाई थप मजवुत गराएको बताए ।

‘हाल हामीसँग एसएमई तथा मिड–कर्पोरेट कर्जा २५ अर्ब रुपैयाँ रहेकोमा आगामी दिनमा यसलाई थप बृद्धि गर्ने प्रयास गरिरहेका छौं, मिड–कर्पोरेट तथा साना र मझौला ब्यवसायहरु हाम्रो अर्थतन्त्रका मेरुदण्डको रुपमा रहेका छन् र नबिल बैंकले यस क्षेत्रको प्रवर्धन र विकासको लागि सक्रिय भुमिका खेल्न चाहेको छ ।’ उनले भने ।

सक्षमसँग काम गरेर बैंकले आगामी दिनमा नयाँ कार्यको शुरुवात गर्न तथा आफ्नो कामकारवीलाई थप परिस्कृत बनाउन सक्षम हुने उनको भनाइ छ ।

यस्तै सक्षमका टिम लिडर वलजित वोहराले सक्षमले साना तथा मझौला ब्यवसायलाई नविन वित्तीय सेवामा सहज र सुबिधायुक्त पहुँचको लागि सहयोग गरी साना तथा मझौला ब्यवसायलाई सक्षम र प्रभावकारी बनाउनको लागि विभिन्न वित्तीय संस्थाहरु, खास गरी वाणिज्य बैंकहरुसँग साझेदारी गरी सेवा प्रदान गर्दै आएको बताए ।

‘हामी नबिल बैंकसँगको साझेदारी तथा प्रतिवद्ध एसएमई हबको स्थापनाबाट उत्साहित भएका छौं, एसएमई हब मार्फत साना तथा मझौला ब्यवसायको वित्तीय आवश्यकतालाई सरल तथा सहज किसिमबाट पुरागर्न संसारमा स्थापित उच्चतम अभ्यासहरु तथा सेवाप्रदान गर्ने संयन्त्रहरुलाई प्रयोगमा ल्याउन मद्दत गर्नेछौँ ।’ उनले भने ।

बैंकले ११.५० प्रतिशत आकर्षक निश्चित ब्यजदरमा कर्जा उपलब्ध गराउने भएको छ । बैंकले सरल तथा छोटो प्रकृयामा ५ दिन भित्र ५ लाखदेखि ३ करोड रुपैयाँसम्मको कर्जा स्विकृृत गरी प्रवाह गर्ने जानकारी दिइएको छ ।

नबिल एसएमइ फास्टट्रयाक कर्जा देशभरका नबिल बैंकका सबै शाखाहरु लगायत मिड–कर्पोरेट एण्ड एसएमई हबमा उपलब्ध हुने छ ।