बुटवल–बुटवल उपमहानगरले भौगोलिक सूचना प्रणालीका आधारमा नगर प्रोफाइल बनाउने काम शुरु गरेको छ ।


ADVERTISEMENT


यसका लागि विशेषज्ञसहितको टोलीले अहिले उपमहानगरपालिकाको भौगोलिक अवस्थाको अध्ययन गरेर अन्तिम प्रतिवेदन तयार पारिरहेको छ । उपमहानगरपालिकाको आवधिक र दीर्घकालीन गुरुयोजनाका लागि आवश्यक पर्ने तथ्यांकलाई हाइटेक प्रणालीबाट संकलन गरिरहेको जानकारी दिँदै प्रमुख शिवराज सुवेदीले यसैका आधारमा योजनाको प्रभावकारी कार्यान्वयन गरिने बताए ।


ADVERTISEMENT

# # #


भौगोलिक सूचना प्रणालीका माध्यमबाट बुटवलको भौगोलिक आकृति तथा भू–भागलाई आधुनिक प्रविधिमार्फत तयार पारिन्छ । बुटवलले अहिले विभिन्न आठ प्रकारका यस्ता हाइटेक तथ्यांक संकलन गरिरहेको छ । उपमहानगरपालिकाको आवासीय, व्यावसायिक, शैक्षिक, स्वास्थ्य, आर्थिक, धार्मिक, स्वास्थ्य तथा सञ्चारका आधारमा प्रारम्भिक चरणको तथ्यांक संकलनको काम पूरा भइसकेको प्रमुख सुवेदीले जानकारी दिए ।

छ जना विषय विज्ञसहितको २० जनाको टोली विगत ४४ दिनदेखि यही काममा दैनिक खटिइरहेको छ । जीआइएस विज्ञहरु इञ्जिनियर भरतप्रसाद बञ्जारा र डिल्लीराज अधिकारीले नेतृत्व गरेको यो टोलीले उपमहानगरको हाइटेक मानचित्रको प्रारम्भिक खाका तयार पारिसकेको छ ।

पहिलो चरणको काम सकेर नगरप्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत राजनकुमार बिसी, प्रवक्ता रामप्रसाद रेग्मीलगायत कार्यपालिका सदस्यलाई जानकारी गराई सुझाव लिने कामसमेत भइरहेको इञ्जिनियर बञ्जाराले जानकारी दिए ।

संकलित विवरणका आधारमा उपपमहानगरले योजना बनाउन सजिलो हुने भएकाले कुनै पनि ठाउँको विवरणलाई नछुटाउन र छुटेका भए तत्कालै अद्यावधिक गर्न उपप्रमुख आचार्यले निर्देशन दिए । बाँकी रहेका विवरण उपमहानगरका योजना/प्राविधिक शाखासमेतको सुझावका आधारमा अद्यावधिक गरिने इञ्जिनियर बञ्जाराले जानकारी दिए ।

यसका आधारमा उक्त टोलीले अहिले उपमहानगरमा ४० हजार १६० घरधुरीमा यही प्रणालीका आधारमा हाइटेक कोड प्रदान गरिसकेको छ । उपमहानगरमा सबैभन्दा धेरै घर वडा नं ११ मा रहेका छन् । त्यहाँ नौ हजार १४७ र सबैभन्दा कम वडा नं ५ मा रहेका छन् ।

वडा नं ५ मा ३९६ घर रहेको विवरण उक्त टोलीले उपमहानगरलाई दिएको छ । टोलीले ३६ हजार ६६२ घरको प्राविधिक नामाकरण गरिसकेको छ भने बाँकी तीन हजार ४९८ घर प्रक्रियामा छन् । यसका आधारमा त्यहाँका सबै तथ्यांकलाई हाइटेक प्रविधिमा रुपान्तरण गर्न सकिनेछ । उपमहानगरको प्रोफाइललाई हाइटेक मानचित्र बनाउने गरी यो काम शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत बिसीले जानकारी दिए ।

उपमहानगरको कुनै पनि स्थानका कुनै पनि घर वा भवन र त्यहाँका संरचनाका बारेमा कार्यालयमा जडित प्रविधिसहितको कम्प्युटरमा बसेर हेर्न सकिने गरी प्रविधि जडानको तयारी भइरहेको प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।