काठमाडौं – प्रदेश नम्बर २ र ५ ले मनमोहन मेमोरियल अन्तर प्रदेश यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेका छन् । सोमबार भएको खेलमा प्रदेश नम्बर २ ले प्रदेश नम्बर ७ र प्रदेश नम्बर ५ ले प्रदेश नम्बर ४ लाई हराएको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको पहिलो खेलमा प्रदेश नम्बर २ ले ७ नम्बर प्रदेशलाई १ विकेटले हराएको हो । प्रदेश नम्बर ७ ले दिएको १९७ रनको लक्ष्य २ नम्बर प्रदेशले २८ ओभर ४ बलमा ९ विकेट गुमाएर पूरा गर्यो ।


ADVERTISEMENT

# # #


प्रदेश नम्बर २ को जितमा अमित यादवले ६१ तथा विवेक यादवले अविजित ५७ रनको योगदान गरे । त्यस्तै साहिल पटेलले ३१ रन जोड्दा तृत राज दासले १९ रन बनाए । प्रदेश नम्बर ७ का नारायण जोशी, महेश सावद, नरेन्द्र सावद र राहुल भण्डारीले समान २ – २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ७ नम्बर प्रदेशले पूरै ३० ओभर खेल्दै ८ विकेट गुमाएर १९६ रन बनाएको थियो । ७ नम्बरका लागि राहुल भण्डारीले ५० तथा नारायण जोशीले ३० रन जोडे । यस्तै राजन सिंहले २९ रन जोड्दा सुवास एरले २२ रन जोडे । प्रदेश नम्बर २ का निखिल सिंहले २ विकेट लिए ।

जितसँगै समूह ए मा रहेको प्रदेश नम्बर २ ले ३ खेलबाट ४ अंक जोडेको छ । र, प्रदेश नम्बर २ समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । पहिलो हार बेहोरेको प्रदेश नम्बर ७ ले पनि ४ अंक जोड्दै समूह बिजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गर्यो ।

अब सेमिफाइनलमा प्रदेश नम्बर २ ले समूह बि को बिजेता प्रदेश नम्बर ३ सँग खेल्ने छ । यस्तै प्रदेश नम्बर ७ ले समूह बि को उपविजेता प्रदेश नम्बर १ संघ खेल्ने छ ।

सोमबार भएको दोस्रो खेलमा ५ नम्बर प्रदेशले ४ नम्बर प्रदेशलाई ९ विकेटले हराएको थियो । ४ नम्बरले दिएको ७८ रनको लक्ष्य ५ नम्बर प्रदेशले ९ ओभर १ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । ५ नम्बरका बिशाल बिक्रम केसीले अविजित ३७ तथा सिजन मकाजुले अविजित ३६ रन जोडे । ४ नम्बरका मेख बहादुर सेनले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ४ नम्बर प्रदेशले पुरै ३० ओभरमा ९ विकेट गुमाएर ७७ रन जोडेको थियो । ४ नम्बर प्रदेशका लागि अनित बरालले १६ रन जोड्दा दिपेन्द्र श्रीसले १२ रन जोडे । ५ नम्बरका नबीन भण्डारीले ३ विकेट लिदा आयुस पाण्डेले २ विकेट लिए ।

यो जित निकालेपनि ४ अंक जोडेको प्रदेश नम्बर ५ ले समूह ए बाट सेमिफाइनलमा स्थान बनाउन सकेनन् ।