गोरखा–गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा सोमबार गजुर स्थापना गरिएको छ । जिर्णोद्धार गरिएको मन्दिरमा वैशाख पूर्णिमाको दिन पारेर क्षमापूजा गरी गजुर राखिएको मन्दिर जिर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए । ‘बिहान ९ बजेको उत्तम साइत रहेछ, पुजारी र अन्य पण्डितहरुबाट विधिवत पूजा गराइ गजुर स्थापना गर्‍यौं,’ उनले भने ।


ADVERTISEMENT


जीर्ण रहेको पुरानो गजुरलाई मर्मत गरिएको श्रेष्ठले बताए । ‘पुरानो गजुर कतै कुच्चिएको कतै प्वाल परेको थियो,’ उनले भने, ‘त्यसलाई मर्मत गर्‍यौं अनि सुनको जलप लगाएर मन्दिरमा स्थापना गरेका हौं ।’


ADVERTISEMENT

# # #


गजुर मर्मत गर्दा करिब ३३ तोला सुन लागेको उनले बताए । गजुर मर्मत गर्न करिब ४० लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिए ।

गजुर स्थापना भए पनि मन्दिर जिर्णोद्धारको काम भने अझै सकिएको छैन । ‘माथिल्लो छानाको काम सकियो, तल्लो छानाको पातामा पनि सुनको जलप लगाइसकेको छौं, माथिल्लो छानाको खट खोलेपछि तल्लो भागमा छाना छाउने काम शुरु हुन्छ,’ समिति संयोजक श्रेष्ठले भने ।

असारसम्ममा छाना छाउने काम सक्ने र असोज महिनादेखि भक्तजनका लागि मन्दिर खुल्ला गर्ने लक्ष्य रहेको उनले बताए । मन्दिर जिर्णोद्धारका लागि १२ करोड रुपैयाँ भन्दा बढी लाग्ने समितिले अनुमान गरेको छ ।

‘सुन मात्रै १५ किलो भन्दा बढी लाग्ने भयो, अहिलेसम्म १२ किलो खर्च भइसकेको छ,’ श्रेष्ठले भने । जिर्णउद्धार लागि नेपाल सरकारबाट सात किलो सुन प्राप्त भएको थियो । ‘केही सुन र ९ करोड जति रकम भक्तजनबाट संकलन भएको छ, अरु हामीले जोहो गरेका छौ,’ उनले भने ।

२०६८ सालमा पुरातत्व विभागले गरेको अध्ययन अनुसार मन्दिर जिर्णोद्धारका लागि आठ करोड लाग्ने बताइए पनि महंगीका कारण लागत खर्च बढेको श्रेष्ठले बताए । ०७२ देखि मन्दिर जिर्णोद्धारको काम सुरु गरिएको थियो । करिव ९५ प्रतिशत काम सम्पन्न भएको उनको भनाइ छ ।