बुटवल– रुपन्देहीको कोटिहवाका रोहन थापा भारतीय टेलिभिजन जि टिभिबाट प्रसारण हुने चर्चित डान्स रियालिटी शो ‘डिआईडी लिटिल मास्टर्स सिजन-४’ को टप ८ मा पुगेका छन् ।


ADVERTISEMENT


भारतका दुई लाख भन्दा बढी प्रतियोगीमाझ अब्बल ठहरिंदै रोहन उत्कृष्ट ८ जनामा छनोट हुन सफल भएका हुन् । रोहनसहितका टप ८ सँगै वाइल्ड कार्डमार्फत ल्याइएका ४ जना समेत गरी १२ जनाबीच दर्शक भोटका आधारमा विजेता छनोट गरिने छ ।


ADVERTISEMENT

# # #


आइतबार राति सवा नौबजे प्रतियोगिताको प्रशारणसँगै भोटिङ्ग राउण्ड शुरु भएको छ । कोटिहवाकै पशुपति माविमा कक्षा ४ मा अध्ययनरत रोहनका आफन्त र शुभेच्छुकले उनलाई जिताउन रुपन्देहीमा प्रचार अभियान थालनी गरेका छन् ।

कोटिहवामै रहेको पञ्चकन्या उद्योगमा मजदुरी गर्ने दम्पति शेरबहादुर थापा र सुमा थापाका छोरा रोहनलाई भोटिङ गरेर जिताउन परिवार र शुभेच्छुकले सबै नेपालीसँग अपील गरेका छन् ।

उनी अध्यनरत पशुपति मावि, रोहनले नृत्य सिकेको गुरुकुल इन्स्टिच्युट, स्थानीय र शुभेच्छुकहरुले नृत्यमा विलक्षण प्रतिभा भएका तर आर्थिक अवस्था ज्यादै कमजोर भएका रोहनलाई भोट दिएर जिताउन अपील गरे ।

विगतमा तेरिया मगर र प्रशान्त तामाङलाई पनि देश विदेशमा रहेका नेपालीले भोट दिएर जिताएको स्मरण गराउँंदै उनीहरुले यसपटक रोहनलाई जिताएर अर्को इतिहास रच्ने बेला आएको बताए ।

पञ्चकन्या ग्रुपका म्यानेजर देबेन्द्र साहुले रोहनका बुबा आमा दुबै पञ्चकन्या उद्योगमा सामान्य मजदुरको रुपमा कार्यरत रहेको हुँदा उनलाई सबैले सहयोगको खाँचो रहेको औंल्याए ।

रोहनलाई डीआईडीसम्म पुर्‍याउन उद्योग र कर्मचारीहरुबाट आर्थिक संकलन गरी सहयोग गरिएको थियो । गुरुकुल इन्स्टिच्युटका नृत्य प्रशिक्षक तेजेन्द्र थापाले रोहन नृत्यमा सानैदेखि विलक्षण प्रतिभा भएको बच्चा भएको उल्लेख गरे । ‘रोहन प्रतिभाशाली, दरिलो आत्मविश्वास भएको नृत्य प्रतिभा हो,तेरिया र प्रशान्त तामाङलाई जस्तै सहयोग भयो भने रोहन पनि पक्कै विजेता बन्न सक्छ, उसमा त्यो क्षमता छ ।’ थापाले भने ।

तीन वर्षअघि रुपन्देही रुद्रपुरकी तेरिया फौजा मगरले डीआईडी लिटिल मास्टर्स सिजन ३ को उपाधि जितेकी थिइन् । वैशाख १५ गते राति पौने नौ बजेबाट सुरु भएको भोटिङ्ग अर्को शनिवार राति पौने नौ बजेसम्म रहने प्रतियोगिताको नियम छ ।

रोहन बुटवलमा बागेश्वरी संगीतालयले आयोजना गरेको अल नेपाल डान्स च्याम्पियनसीप प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका कारण भारतका चर्चित डान्स प्रशिक्षक टेरेन्स लुइसको रोजाइमा परेर उनको डान्स स्कूलमा एक महिनाको निःशुल्क छात्रवृत्ति पाएका थिए ।

रोहनलाई भारतमा वैष्णवीले कोरियोग्राफी गरिरहेकी छन् । उनलाई डीआईडीका निर्णायकहरुले ज्याकी च्याङको उपमा दिएका छन् ।

रोहनलाई एसएमएसमार्फत भोट गर्न भारतीय सिम मार्फत अंग्रेजी अक्षरमा DIDLMROH टाइप गरी ५७५७५ मा पठाउन सकिन्छ भने वेबसाइटबाट Zee5.com/didlmvote मा गएर भोट गर्न सकिन्छ भने इन्स्ट्राग्रामबाट पनि उनलाई भोट गर्न सकिन्छ ।