काठमाडौं–प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेका छन् । बुधबार बिहान धनगढीको उत्तरबेहडीस्थित राष्ट्रिय मावि पुगेर उनले कान्छी छोरी १४ वर्षीया पुष्पालाई कक्षा ८ मा भर्ना गरेका हुन् ।


ADVERTISEMENT


पुष्पाले डोटीको केआइसिंह गाउँपालिका–६ फलेडीस्थित देवस्थल माविबाट कक्षा ७ उत्तीर्ण गरेकी हुन् । उनकी जेठी छोरी लक्ष्मी डोटीको केआइसिंह गाउँपालिका–६, फलेडीस्थित देवस्थल मावि कक्षा १० मा अध्ययनरत छिन् । त्यस्तै, छोरा विकास राजपुरस्थित सुजंग उच्च मावि कक्षा ११ मा पढ्दै छन् ।


ADVERTISEMENT

# # #


पुष्पासँगै भर्ना भएका विद्यार्थीलाई मुख्यमन्त्री भट्टले पुस्तक पनि वितरण गरेका छन् । मुख्यमन्त्रीले छोरीलाई भर्ना गराएपछि शिक्षक र विद्यार्थी उत्साहित भएको प्रधानाध्यापक गणेशराज भट्टले बताए । ‘सबैबाट सहयोग भयो भने विद्यालयको गुणस्तर सुधार गर्न सकिन्छ,’ उनले भने । यो विद्यालयमा चार सय विद्यार्थी अध्ययनरत छन् ।

मुख्यमन्त्री भट्टले छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्न सबैलाई आह्वान गरेका छन् । नेता, कर्मचारी तथा समाजका प्रतिष्ठित व्यक्तिले छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेपछि शिक्षाको गुणस्तरमा सुधार आउने उनको भनाइ छ । ‘सबैलाई आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न आह्वान गर्दछु,’ मुख्यमन्त्री भट्टले भने ।

प्रदेशको शिक्षाको स्तर सुधारका लागि आफूबाटै पलह सुरु गरेको उनको भनाइ छ । ‘हामीले सुरुवात गरेका छौँ । अब सबै कर्मचारी, शिक्षक, नेताले पनि यसमा हातेमालो गरौंँ,’ मुख्यमन्त्री भट्टले भने ।

मुख्यमन्त्री त्रिलोचन भट्टले सबैले सामुदायिक विद्यालयलाई माया गरे शिक्षाको स्तर सुधार हुने बताए । सार्वजनिक पद धारण गरेका व्यक्तिले छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरी पठनपाठनमा चासो देखाउँदा पनि धेरै फरक पर्ने उनले बताए ।

कसैले पनि शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था आउन नदिन शिक्षा नीतिमा सुधार गर्न लागिएको मुख्यमन्त्री भट्टले बताए । सबैले पढ्न पाउने व्यवस्था नहुन्जलेसम्म प्रदेशको विकास हुन नसक्ने उनको भनाइ थियो । उनले अहिले सञ्चालन भइरहेको विद्यालय भर्ना अभियानलाई सफल पार्न पनि सबैलाई आग्रह गरेका छन् ।