बुटवल–प्रहरी इन्काउन्टरमा मारिएका रुपन्देहीका मनोज पुनको आपराधिक क्रियाकलापमा नेतादेखि व्यवसायीहरूको साथ रहेको पाइएको छ । अपराधमा संलग्न मनोज पुनलाई व्यापारीको हरेक सूचना पुर्‍याउने र रकम असुलीमा सहयोग गरेको तथ्य फेला पारेपछि माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेसहित नेता तथा व्यवसायीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


रुपन्देहीका तत्कालीन युवा संघका अध्यक्ष दुर्गा तिवारी, व्यापारी बलु पौडेललगायतको हत्याका मुख्य अभियुक्त मनोज पुनलाई सीधै सम्पर्क गरेर सूचना पुर्‍याएको प्रमाण फेला पारेपछि नेता तथा व्यवसायीलाई प्रहरीले पक्राउ गरेको हो । पुन झन्डै एक महिनाअघि प्रहरी इन्काउन्टरमा मारिएका थिए ।


ADVERTISEMENT

# # #


यी हुन् पक्राउ पर्ने
रुपन्देही देवदहका लेखनाथ न्यौपानेसहित बुटवल उपमहानगरपालिका वडा नं. ७ शिवनगरका उत्तम आचार्य, देवदह नगरपालिका वडा नं. ५ बस्ने तुल्सी न्यौपाने, स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. ४ घर भई बुटवल बस्ने हरिप्रसाद श्रेष्ठ र देवदह नगरपालिका वडा नं. ६ बस्ने रोशन खड्का पक्राउ परेका छन् ।

लेखनाथ न्यौपाने माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । उनी रुपन्देहीका अनेरास्ववियु क्रान्तिकारीका पूर्वअध्यक्षसमेत भइसकेका थिए । तुल्सी न्यौपाने माओवादी केन्द्रका कार्यकर्ता हुन् । त्यसैगरी आचार्य एमालेनिकटको युथफोर्सको पूर्वनेता हुन् । श्रेष्ठ मदिरा व्यवसायी हुन् । श्रेष्ठले दुईजनाको हत्या गर्नका लागि रकम पुनलाई उपलब्ध गराएको प्रहरीले जनाएको छ । खड्का जग्गा व्यापारी हुन् ।

रसियन महिलालाई भारत पुर्‍याउने गरेको आशंका
प्रहरीले माओवादी नेता नेखनाथ न्यौपानेको रसियन महिलाहरूलाई नेपालको बाटो हुँदै भारत पुर्‍याउने भूमिकामा समेत संलग्नता रहेको आशंका गरेको छ । मनोज पुन भारतमा रहँदा त्यहाँका आपराधिक समूहका नाइके योगेन्द्र सिंहसँग सम्पर्कमा रहेको प्रहरीको भनाइ छ । सिंहसँग न्यौपानेको सीधा सम्पर्क रहेको प्रहरीको आशंका छ ।

भारतमा रहँदा पुन पनि रसियन युवतीसँग समेत बस्ने गरेको र सिंहसँग रसियन महिला पुग्ने गरेको आशंका प्रहरीको छ । सिंहसँग पुग्ने रसियन महिलाहरू नेपालको बाटो जान न्यौपानेले सहयोगी भूमिका खेलेको प्रहरीको भनाइ छ । एसपी ज्ञवालीले यस्ता अपराधमा केही भारतीय नागरिकको समेत संलग्नता रहेको हुन सक्ने बताए । – आजको नयाँ पत्रिकाबाट