काठमाडौँ– एमाले र माओवादी केन्द्रबीच आगामी ९ वैशाखमा हुने भनिएको पार्टी एकता पर सरेको छ । आज बसेको एकता संयोजन समितिको बैठकपछि नेताहरूले ९ बैशाखमा एकता घोषणा नहुने जानकारी दिए । बैठकपछि नेता ईश्वर पोखरेलले कार्यदलले दिएको प्रतिवेदन अध्ययन गर्न दुई पार्टीका अध्यक्षले नभ्याएकाले एकताको घोषणा केहीदिन पर सरेको बताए ।


ADVERTISEMENT


बिहान साढे नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयोजन समितिको बैठकमा कार्यदलले दिएको सुझावलाई गम्भिर छलफल गरेको थियो । बैठकमा अधिकांश विषयमा छलफल भइसकेको र अन्तिम रुप दिइएको बताइएको छ । एमाले नेता पोखरेलले अधिकांश विषयमा सहमती भएपनि वैशाख ९ गते एकता नहुने बताए । एकताका विषयमा खासै विवाद नदेखिएको र वैशाख ९ मा एकता गर्ने भनिएपनि प्रतिवेदन अध्ययनका लागि केही पर सरेको उनको भनाइ रहेको छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओली भारत भ्रमण जानु अघि नै सवै विषय टुङ्ग्याउने भनिएपनि केहि विषयमा छलफल हुन बाँकी रहेको थियो । दुईवटै कार्यदलले एकता संयोजन समितिलाई चैत २० गते आफ्नो प्रतिवेदन बुझाएको थियो । चैत २२ गते समितिको बैठकमा खासै सहमति हुन सकेको थिएन ।

प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्केपछि तीन पटक स्थगित भएको बैठक पुुनः मंगलबार विहान बसेको थियो । समितिको बैठकले एकताका लागि मिल्न बाँकी विषयमा अन्तिम टुङ्गो लगाउने जिम्मा दुई पार्टीका अध्यक्षहरूलाई दिएको छ ।