– राजेश्वर आचार्य, चीनका लागि पूर्व नेपाली राजदूत


ADVERTISEMENT


नयाँ सरकार गठन भएको छ । राजनीतिक आन्दोलन समाप्त भएर अब विकास र समृद्धिको एजेण्डा अनुसार देश अगाडि बढको छ भनिएको छ । यो परिदृश्यलाई कसरी नियाल्नु भएको छ ?


ADVERTISEMENT

# # #


हो, राजनीतिको एउटा चरण पूरा भएको छ । निर्वाचित जनप्रतिनिधिबाट संविधान बनाउने कुराहरुसंगै लामो समयसम्म संक्रमणकालबाट गुज्रिएको नेपाल अब केही आर्थिक समृद्धितिर पाइला चाल्न खोज्दैछ । अब नेताहरु त्यहातर्फ फोकस हुन आवश्यक छ । आर्थिक समृद्धि कुन रफ्तारमा गर्ने भन्ने कुरा अर्थमन्त्री, उद्योग, बाणिज्यमन्त्री, जलस्रोत, पर्यटनमन्त्रीमा बढी भर पर्छ । यसको मतलब अन्य मन्त्रालयले गर्न सक्दैनन् भन्ने होइन । अब मुलुक वास्तवमा राजनीतिक खिचातानीमा समय बिताउनुभन्दा आर्थिक विकासका लक्ष्यहरु निर्धारण गरेर देशका स्रोतसाधानलाई आधारमा मानेर अगाडि बढ्नुपर्छ ।

मुलुक संघीयतामा गएको छ । जुन नेपालका लागि नयाँ कुरा हो । विकास र समृद्धि जुन किसिमले भनिँदै आइएको छ । यसका लागि सरकारका प्राथमिकताहरु के के हुनुपर्छ ?

पहिलो कुरा त विकास र समृद्धि भन्दा पनि जनताको जीवनस्तरमा सुधार हुनु आवश्यक छ । देशका राष्ट्रिय आयमा उल्लेख्य सुधार हुनुपर्छ । रोजगारीका अवसरहरु देशभित्र सिर्जना गर्नुपर्छ । अहिले युवा जती सबै विदेशमा छन् । देशमा बालक, वृद्ध र विदेश जान नपाएका मात्रै बस्ने हो भने त्यसले हाम्रो विकासको चाहना पूरा गर्न सक्दैन । आफ्नो देशको दक्षता आफ्नै देशमा लागू गर्नसक्नुपर्छ । अहिले राम्रो दक्षता हासिल गरेका देखि सामान्य श्रमिकसम्म सबै विदेशमा छन् । विदेशी लगानी भित्र्याउन सकियो भने पनि हाम्रो श्रमशक्ति त विदेशमा नै छ । कामदारपनि विदेशबाट नै ल्याउनुपर्यो भने कसले लगानी गर्छ ? त्यस कारण विदेशमा रहेको जनशक्तिलाई देशमा फर्काउन सक्नुपर्छ । त्यसका लागि आवश्यक योजना ल्याउनुपर्छ । अर्को कुरा भनेको हाम्रो दुबैतिर ठूला देशहरु छन् । जुन अहिले विश्व अर्थतन्त्रमा उदयिमान मुलुक हुन् । तिनको सानो भूभागमा हामीले आफ्नो उत्पादन पठाउन सक्यौँ भने पनि नेपाललाई धेरै फाइदा हुन्छ । यसरी गयौँ भने मात्रै हामी विकास र समृद्धिको लक्ष्य भेटाउन सक्छौँ । होइन भने विकास र समृद्धिको नारा मात्रै घन्काएर चर्को राजनीति गर्ने हो भने स्वयम् नेतालाई पनि फाइदा हुँदैन ।

यहाँले जुन किसिमको स्रोत साधनको कुरा गर्नुभयो । त्यसलाई विकास र समृद्धिको लक्ष्य भेटाउन सरकारले कसरी परिचालन गर्नुपर्छ ?

यसमा पहिलो कुरा त कृषि नै हो । त्यसमा धान गहुँमात्र नभई पशुपालन, डेरी प्रोडक्सनहरु पनि आए । अर्को जडिबुटी हो । हाम्रा बहुमूल्य जडिबुटीहरु हामी कच्चा पदार्थका रुपमा विदेश पठाउँछौ । हामीसंग कस्ता किसिमका जडिबुटी छन् र विदेशमा कस्ता किसिमका औषधीको माग भइरहेको छ ? त्यो पहिचान गरी अब त्यसलाई नेपालमा नै प्रशोधन गरेर विदेश पठाउनु पर्छ । अन्य वन्यजन्तुको पनि कुरा आउँछ । अर्को महत्वपूर्ण कुरा भनेको नेपालको पर्यटन हो , यहाँ साँस्कृतिक पर्यटन र प्राकृतिक पर्यटन दुबैको सम्भावना एकदमै छ । लुम्बिनीदेखि जानकी मन्दिर, पशुपतिनाथदेखि मुक्तिनाथ हामीसंग छन् । यी ठाउँलाई विश्वभर फैलाउन सक्नुपर्छ ।

यहाँको साँकृतिक विविधताले पनि पर्यटक तान्न सक्छ । प्राकृतिक पर्यटनको त कुरा गरिराख्नुपर्दैन । तर त्यसका लागि आवश्यक पूर्वाधारको विकास भने हामीले गर्नैपर्छ । अर्को भनेको जलस्रोत र खनिज हो । नेपाल विश्वमा जलसम्पदामा धनी देश हामीलाई थाहा नै छ । यहाँको पानीको सदुपयोग गर्नसक्नुपर्छ । नेपालको पानीबाट नै हामी दक्षिण एसिया उज्यालो बनाउन सक्छौँ । त्यसका लागि आवश्यक लगानी भित्र्याउन सकियो भने नेपालको समृद्धि जलविद्युतबाट नै हुनसक्छ ।

त्यस्तै हामीसंग खनिज पद्धार्थ लुकेर रहेको छ । कतिपय ठाउँमा खानी पत्ता लाग्दा पनि हामीले त्यसको उत्खनन् गर्न सकेका छैनौँ । त्यसैले यस्ता सम्भावना बोकेका क्षेत्रलाई हामीले अगाडि ल्याउन सक्नुपर्छ । जसबाट नै नेपालको समृद्धिको सपना पूरा गर्न सकिन्छ । तर त्यसका लागि अबको सरकारले कस्तो कदम चाल्छ त्यो भने हेर्न बाँकी नै छ ।

सरकारको कुरा गर्नुभयो । पछिल्लो समय प्रधानमन्त्री ओलीले जुन किसिमले विकासको सपना बाँडिरहनु भएको छ । यसमा तपाईको धारणा के छ ?

हेर्नुस् बोलेर मात्र केही हुँदैन । बोलेको कुरा कार्यान्वयन गर्नतिर कति लागियो त्यसमा भर पर्छ । भाषणबाजीले त देश बन्दैन । हिजोका घोषणापत्र उहाँहरुका विकासका योजना हुन् भने पनि त्यस अनुसारको कार्ययोजना चाहियो । यसअघि गरेका प्रतिवद्धता कति पुरा भएका छन् ? त्यो पनि मुल्याङ्कन गर्नुपर्छ । नेपालको झण्डा भएको पानी जहाज र रेल ल्याउने कुरा प्रधानमन्त्रीले बोल्नु भएको छ । कार्ययोजना तथा त्यसको आधार त चाहियो नि ? दुई वर्षमा रेल पुग्ने कुरा ५, १० किलोमिटर रेलवे लाइन राखेर रेल ल्याउने मात्रै त होईन होला ? जुन कुरा बोलेको छ । त्यसमा कती गाम्भीर्यता छ भन्ने कुरा माहत्वपूर्ण हो ।

चीनको रेल काठमाडौँ हुँदै लुम्बिनी पुर्याउने प्रतिबद्धतालाई के भन्नुहुन्छ ?

प्रधानमन्त्रीले यो कुरा जोडले उठाईरहनु भएको छ । सरकारले कति रफ्तारमा काम अघि बढाईरहेको छ भन्नेले अर्थ राख्छ । यसका लागि भौगोलिक अध्ययन पनि जरुरी छ । यसका सम्भावना र चुनौतिहरुको अध्ययन गर्नुपर्यो । त्यस्तै पूर्वाधार तथा जनशक्तिको आवश्यकता होला । यस्का लागि समेत कामहरु अघि बढ्नुपर्छ । अनि आउँछ रेल । काम पुरा हुँदै गएपछि बल्ल समृद्धिको स्वरुप पनि देखिँदैजान्छ ।

ठिक छ । त्यसमा त अध्ययन पक्कै पनि भएको होला नै । अब अर्को कुरा विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व पनि उत्तिकै जरुरी हुन्छ । नयाँ सरकार गठन भएसंगै के नेपाल स्थायित्वतर्फ लम्किएको हो ?

अब यो भन्दा बढी स्थायित्वको आधार त अब हुनै सक्दैन । यो सरकारसंग दुई तिहाई बहुमत छ । मधेशवादी दलले समर्थन फिर्ता लिएपनि स्पष्ट बहुमत त बाँकी नै रहन्छ । स्थायित्वको साथसाथै अब ‘डेलिभरी’ गर्ने बेला आयो । जनतालाई त्यसको परिणाम देखाउनुपर्यो । जनताले उनीहरुलाई जुनकिसिमको मत दिएका छन् । त्यसको प्रतिफल दिन सक्नुपर्यो । हिजो गरेका वाचा पुरा गर्ने अब समय आएको छ । ढिलो गर्ने वा कुनै बहाना गर्ने कारण नै छैन । काम गर्नुको विकल्प छैन ।

छिमेकी देशहरुसंगको सम्बन्धलाई नेपालले कसरी अगाडी बढाउनुपर्छ ?

चीन र भारत दुई वटै हाम्रा मित्र र पूराना सभ्यताका प्रतीक हुन् । दुबैको आ–आफ्नै महत्व र इतिहास छ । अब आर्थिक हैसियतको कुरा गर्दा चीन धेरै अगाडी बढिसकेको छ । अहिले विश्वको जुनसुकै ठाउँमा चिनीयाँ सामानहरु पुगेका छन् । चीनसंगको सम्बन्ध हाम्रालागि विकास र समृद्धिको कोशेढुँगा हुनसक्छ । यस्तै भारत पनि आफ्नो गतिमा छ । अहिलेको अवस्थामा यी दुबै मुलक विश्वको उत्पादनका ‘पावर हाउस’ हुन् । त्यसैले यी दुई मुलुकको बीचमा बसेको नेपालजस्तो देशले दुईवटै देशबाट उत्तिकै फाइदा लिन सक्छ । चीन र भारतको केही भागमा मात्रै पनि हामीले आफ्ना उत्पादन पठाउन सक्यौँ भनेपनि हाम्रो समृद्धि चाँडै नै हुनसक्छ ।

त्यसका लागि हामीले कुनै एउटा ब्रान्डलाई परिचित गर्नुपर्यो । पर्यटनको हब बनाउने, कि शिक्षाको वा अन्य कुनै हब नेपालमा बनाउन सक्नुपर्छ । जुन कुरामा उनीहरु नेपालबाटै निर्भर रहन सकुन् । हामी भूपरिवेष्ठित छौँ । तर हामीसंग हवाई क्षेत्र त खुला छ नि । यसका लागि विकासको गीत गाएर मात्र हुँदैन । त्यसका लागि चाहिने ‘एफोर्ट’ चाहियो ।

तपाईले चीनमा राजदूत भएर काम पनि गरिसक्नु भएको छ । खासगरी चीनले छोटो समयमा त्यती ठूलो फड्को मारेको छ । यसलाई तपाई कसरी विश्लेषण गर्नुहुन्छ ?

मैँले अघि पनि बताएँ कि उनीहरुले आफ्नो सम्भावनालाई बाहिर ल्याए । माओत्सेतुङ र चाउ एनलाईको निधनपछि एक चीन नीति आयो । त्यसपछि हङकङ, सिंगापुरको जस्तै ‘स्पेसल इकोनोमिक जोन’हरुको सुरुवात भयो । जसले चीनको विकासलाई विस्तारै माथि लैजाने सुरुवात गर्यो । नेपाललियनले चीनलाई सुत्नदेउ, यदि ऊ उठ्यो भने विश्वलाई हल्लाउँछ भनेका थिए ।

अन्तत्वगत्व, चीन ब्युँझियो । जुन कुरा हामीले अहिलेको विश्व बजारमा देखिरहेका छौँ । अहिले वेल्ट एन्ड रोड इन्निसियटिभले एसिया देखि युरोपसम्मका मुलुकलाई जोड्दैछ । बिरालोको रङ जस्तोसुकै होस् तर उसले मुसा मार्नुपर्यो भनेजस्तै उनीहरुले जुनसुकै वाद भएपनि समृद्धि हासिल हुनुपर्यो भन्ने कुरामा ध्यान दिए । त्यसैको परिणाम आज चीनको अर्थतन्त्र विश्वमै शक्तिशाली छ ।

त्यस्तै, पूर्वाधार विकासको कुरा गर्ने हो भने चीनको अगाडी अमेरिका समेत पुग्न सक्दैन । सरकारको काम जनताको जिउ धनको सुरक्षा गरेर समृद्धि कायम गर्नु हो । विश्वमा आफ्नो देशलाई स्वतन्त्र ढंगले चलाउनु हो । नत्र त सरकार किन चाहियो ? त्यो बिषयलाई जब नेतृत्व गर्ने व्यक्तिले बुझ्छ, तब चीनजस्तै अगाडी दौडन सक्छ ।

चीनले आफ्नो समृद्धिको लागि जुन मोडल प्रयोग गर्यो, त्यो नेपालका लागि कत्तिको उदाहरणीय बन्न सक्छ ?

मोडल त्यसकै कपी हुनुपर्छ भन्ने छैन । चीनले हङकङलाई आफ्नो विकासको मोडल बनाए । हामीले यस्को गति र लगनशिलतालाई बुझ्न सक्नुपर्छ । यसका लागि अर्थतन्त्र बुझेका, हाम्रो सामाजिक, राजनीतिक र भौगोलिक परिस्थिति बुझेका व्यक्तिहरुको सरकार र सम्बन्धित निकायसंग अन्तर्सम्बन्ध भयो भने यसले सकारात्मक परिणाम ल्याउन सक्छ । नेतृत्व वर्गमा समृद्धिको सपनाका साथै कामप्रतिको लगाव र प्रतिज्ञा भयो भने हामी पनि अबको ८–१० वर्षमा केही हैसियतको अवश्य हुनेछौँ । त्यसका लागि हाम्रो दुईतर्फ रहेका छिमेकीहरुको उत्तिकै सहयोग अनिवार्य हुन्छ ।

चीनले त त्यसका लागि हात अगाडी बढाएको पनि देखिन्छ । जस्तो बाहिरी चक्रपथको कुरा छ । अन्य विभिन्न किसिमका पूर्वाधार विकासको लागि पनि चीनले सहयोगको ढोका खोलिरहेको छ । नेपालले यसको कसरी भरपुर प्रयोग गर्नुपर्छ ?

हेर्नुस्, यसमा यस्तो छ । चीनले नेपालको विकास किन गरिदिने ? चीनलाई नेपालको विकास गर्नु आवश्यक त छैन नि । तर आवश्यकता त हामीलाई छ । हामीले आफ्नो बाटो आफै बनाउने हो । आफ्नो भविष्य आफै कोर्ने हो । त्यसको लागि चीनको सहयोग कसरी, कुन कुन क्षेत्रमा लिने भन्ने तयारी त हामीले पहिला गर्नुपर्छ ।

माग्ने झोला भिरेर मात्र हुँदैन । हामीले आफ्ना विकासको योजना चीन, भारत, अमेरिका वा अन्य कुनै देशलाई सुनाउने हो । त्यसको लागि आवश्यक सुझाव सहयोग माग्न सकिन्छ । तर बनाउने त हामीले नै हो । हामीलाई पहिले विकासको भोक लाग्नु पर्यो । आफ्नो जनताको गरिबी, पछौटेपनलाई दूर गर्छु भन्ने प्रतिवद्धता चाहियो । छिमेकीलाई हाम्रा आवश्यकता र सहयोगका खाँचोहरुमा स्पष्ट र बिश्वास दिलाउनुपर्यो ।

उसो भए देशको समृद्धि र विकासको अभियानमा चीनसंग कसरी सहकार्य गरेर अघि बढ्न सकिन्छ ?

पहिले त हाम्रो नेतृत्व प्रतिवद्ध हुनुपर्यो । हामीले आफ्ना योजनाहरुको आफै पहिचान आफै गर्नुपर्यो । के के गर्ने भनेर भनेर १० र १५ वटा योजना बनाउनुपर्यो । अनि त्यसलाई लिएर आवश्यक सहयोग लिन सकिन्छ । हाम्रो व्यापारका सम्भावना हामी आफैले केलाउन सक्नुपर्छ । लगानीको वातावरण सरकारले निर्माण गरिदिनुपर्छ । चीन, अमेरिका, भारत वा अन्य देशले नेपालमा किन लगानी गर्ने ? त्यसको खाका हामीले तयार गर्नसक्नुपर्यो । त्यसको लागि आवश्यक वातावरण त हामीले बनाउने हो नि । उनीहरुले लगानी गर्नका लागि हामीसंग जनशक्ति, लगानीका लागि नीति राम्रो हुनुपर्यो । मुख्य कुरा लगानीको सुरक्षा हुनुपर्छ । यसका लागि सरकारले तयारी थाल्नुपर्छ ।