काठमाडौं–२०७४ सालको सुरुवातदेखि नै प्रहरी संगठन भित्र विभिन्न उतारचढाव आए । जसका कारण अदालत र सरकारबीच नै दरार पैदा भयो । आइजिपी नियुक्तिको विवाद चरम उत्कर्षमा पुगेको भएपनि त्यसले प्रहरीको काममा भने खासै फरक पारेन । यो वर्ष केही घटनामा प्रहरीले ठूलो सफलता पायो भने केही घटनामा प्रहरी अधिकृत आफैं मुछिए ।


ADVERTISEMENT


यस्ता छन् केही चर्चित घटना


ADVERTISEMENT

# # #


१. व्यवसायी शरद गौचन हत्या

असोज २३ गते काठमाडौंको नयाँ बानेश्वरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई गोली हानी हत्या गरियो । राजधानीमा दिनदहाडै भएको व्यापारीको हत्याले धेरै चर्चा पायो । केहीदिनसम्म गौचनको हत्याको रहस्य खुलेन ।

केही समयपछि ‍ प्रहरीले हत्याको योजना बनाउने उनकै सहपाटी समिरमान बस्यातलाई भारतबाट पक्रेर ल्यायो र थप अभियुक्तलाई पनि पक्राउ गर्‍यो ।

२. तस्करीको ८८ किलो सुन बरामद

भदौ १९ गते प्रहरीले काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो तस्करीको सुन बरामद गर्यो । नेपाल प्रहरीको इतिहासमै पहिलो पटक सबैभन्दा धेरै सुन बरामद भएको हो । यो काण्डमा व्यापारी भने भाग्न सफल भए । प्रहरीले घटनामा संलग्न काग्रेस स्थानीय नेतादेखि चालकलाई पक्राउ गरेपनि मुख्य व्यापारी भने अझै पक्राउ परेका छैनन् ।

३. ’इन्काउन्टर’मा मारिए मनोज पुन

एमाले युवा संघका रुपन्देही अध्यक्ष दुर्गा तिवारी हत्यापछि भारतमा बसेर नेपाली व्यापारीलाई फिरौती माग्दै अन्डरवर्ल्ड डन बन्ने सपना बोकेका मनोज पुनको फागुन ९ गते प्रहरी ‘इन्काउन्टर’ मा मृत्यु भयो । केही वर्षयता पुनले विदेशमा बसेर व्यवसायीहरुलाई धम्क्याउने र पैसा नदिए आक्रमण गर्ने ‘अन्डरवर्ल्ड’ शैली चलाएका थिए । पटक–पटक उनलाई पक्राउ गर्न प्रहरी टोली भारत गए पनि असफल थियो ।

त्यसअघि उनका सहपाठी समरिमान बस्यातलाई भारतबाट ल्याएपछि सिआइबी पुनको नजिक पुगेको थियो ।

पुन र उनका प्रमुख सहयोगी सोम आले रुपन्देहीको देवदहमा प्रहरीसँगको मुठभेडमा मारिएसँगै मारिए ।

४. दाङका व्यापारी राजकुमार श्रेष्ठको हत्या

१७ वर्षिया युवतीसँग डेटिङ जादा दाङ तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठको हत्या भयो । १७ वर्षिया युवती पूजा घर्ती मगरले ‘हनी ट्रापिङ’ मा पारेर उनकै बाबुसहितको समूहले श्रेष्ठलाई अपहरण गरी पैसा असुल्न खोजेको थियो । जंगलमा लगेर बन्धक बनाइएकोमा श्रेष्ठ बिरामी भए अनि पैसा नआउने र आफैं फन्दामा पर्ने डर पैदा भएपछि अपहरणकारीहरुले उनको जंगलमै हत्या गरे । घटनामा पूजाका बुबा टीकाराम घर्तीसहितको केही पक्राउ पनि परीसकेका छन् ।

 

५. सुन तस्करी र सनम शाक्य हत्या प्रकरण

२०७४ सालको अन्त्यतिर अवैध सुनका भरिया भनिएका सनम शाक्यलाई तस्करहरूले जंगलमा यातना दिएर हत्या गरे । जुन घटनाको अझै अनुसन्धान हुदैछ। सोही काण्डमा महानगरीय अपराध महाशाखाको एसएसपी, डिएसपी र सईलाई समेत कामबाट फिर्ता बोलाएर अनुसन्धानको दायरामा ल्याइएको छ । तस्करीको ३३ किलो सुन लुकाएको आरोपमा मोरङ उर्लाबारीका सनम शाक्यको करेन्ट लगाएर गत फागुन १८ मा विराटनगरमा हत्या भएको थियो । उनको हत्यामा अवैध सुने नेपाल ल्याउने सोही ठाउँका चुडामणि उप्रेती संलग्न रहेको प्रहरीको दाबी छ । उप्रेती यसअघि पनि सुन काण्डमा मुछिएका थिए,तर उच्च प्रहरी सेटिङ मिलाएरै उनी बचेका थिए । तस्करीलेनै पीडितलाई अभियुक्त बनाएको र प्रहरीले त्यसैलाई सदर गरेको भेटिएपछि गृहमन्त्रालयले समिति नै गठन गरी अनुसन्धान अघि बढाएको हो ।

६. दरबारमार्गमा सामूहिक बलात्कार

माघ ७ गते काठमाडौंको दरबारमार्गमा एक युवतीको सामूहिक बलात्कार भएको घटनाले पनि निकै चर्चा पायो । उजुरी लिएर प्रहरीमा रुँदै गएकी युवतीलाई आर्थिक प्रलोभन देखाएर मिलापत्र गराउन प्रहरीले दबाब दिएको रहस्य खुलेपछि प्रहरीभित्र पनि खैलाबैला भयो । आर्थिक चलखेल गरी मिलापत्र गराएको घटना बाहिर आएपछि छानबिन सुरु भयो । दरबारमार्ग वृत्तका इन्सपेक्टर लक्ष्मण ठकुरी र सई चन्द्र भण्डारीलाई निलम्बन गरियो भने डिएसपी तिलम भारतीलाई वृत्तबाट हटाइयो । घटनामा संलग्न पीडित युवतीका प्रेमी शैलेश कार्की पक्राउ परेका छन् भने विकास गौतम, दीपक श्रेष्ठ र रवि पौडेल फरार छन् ।

७. डेढ अर्बको बैंक ठगी

०७४ सालको अन्त्यतिर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हाल एनसिसी बैंकमा मर्ज भएको तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकको ३ वर्ष अगाडि भएको घोटाला काण्ड सार्वजाकि गर्यो । राष्ट्र बैंकले नै लुकाउँदै आएको उक्त घोटालामा संलग्न १९ जना बैंक सञ्चालक तथा कर्मचारीहरुलाई थुनामा राखेर सिआइबीले अनुसन्धान थालेको छ । बैंकका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धिताल तथा सञ्चालकहरू इच्छाबहादुर गुरुङ, सुवर्णराज भण्डारी, छविरमण अधिकारी, मधुवनलाल श्रेष्ठ सिआइबी हिरासतमा छन् । त्यस्तै, तत्कालीन निमित्त सिइओ ऋषिराज भट्ट, वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक महाप्रबन्धक रामचन्द्र बसौला, शाखा प्रबन्धक विकास श्रेष्ठ, सागर नेउपाने, मानबहादुर राउत, सुदीप थापा, सहायक महाप्रबन्धक विनीतमणि उपाध्याय, कर्जा अधिकृत मोहन खरेल, सजल बज्राचार्य, प्रमोद भट्टराई र कृबेन्द्र श्रेष्ठ लगायत पक्राउ परेका छन् । प्रारम्भिक अनुसन्धानमा १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रुपैयाँ अनियमितता भएको राष्ट्र बैंकको अनुसन्धानमा खुलेको थियो ।

८. बैंक ठगीमा जर्नेल जेल चलान

नेपाली सेनाका सहायकरथी रमेश विष्ट बैंक ठगी घटनामा जेलमा छन् । कृषि विकास बैंकमा भएको करिब ५ करोड ठगी घटनामा उनी जेल चलान भएका हुन् । बैंकको न्युरोड शाखामा काम गर्ने दीपिका रेग्मीको योजनामा ठगी काण्डमा उनको पनि संलग्नता रहेको देखिएपछि उनलाई सिआइबीले पक्राउ गरेको थियो । ठगीको योजनाकार रेग्मीलाई प्रत्यक्ष रूपमा सघाएको आरोपमा मुद्दा दायर भएका सहायक रथी बिष्टलाई पाटन उच्च अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

९. प्रेमीका लागि श्रीमानलाई गोली

फागुन १६ गते वीरगन्जमा एक महिलाले प्रेमीसँग लगनगाँठो कस्न आफ्नै पतिको हत्या गर्न खोजिन् । भाडामा सुटर प्रयोग गरी श्रीमानको हत्या प्रयास गर्ने प्रियंका रौनियारलाई प्रहरीले पक्राउ गर्यो । रौनियारले श्रीमान् उमेशको हत्या गर्न खोजेकी थिन् । प्रियंकाको विजेन्द्र गुप्तासँग प्रेम सम्बन्ध थियो ।

१०. कलाकार खड्गी मानव तस्करीमा पक्राउ

माघ २५ गते मानव तस्करीको अभियोगमा कलाकार राजेन्द्र खड्गीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गर्यो । ११ जना नेपालीलाई कोरियामा अवैध तरिकाले पठाएको भन्दै खड्कीलाई पक्राउ गरी मावन बेचखिनमा मुद्दा चलाइयो । जिल्ला अदालत काठमाडौंले उनलाई सुरुमा थुनामा राखे पनि अहिले भने ५ लाख धरौटीमा छुटेका छन् ।

११. बलात्कार अभियोगमा बौद्ध धर्मगुरू पक्राउ

नेपालमा पहिलो पटक बलात्कार मुद्दामा बौद्ध धर्मगुरु पक्राउ परे । सिआइबीले दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलस्थित पेमाटासी छुल्ठिम घोम्बो कासुङका प्रमुख रिम्पोछे (गुरु) छुल्ठिम दोर्जे योन्तानलाई बलात्कार तथा यौन दुर्व्यवहार अभियोगमा मंसिर ७ गते पक्राउ गरेको हो । सिन्धुली कुशेश्वर–९ (दुम्जा)का बौद्ध धर्मगुरु टुल्कु लामा चुल्ठेन (रिम्पोछे)१० वर्षदेखि लामाको भेषमा युवती बलात्कार गर्दै आएको प्रहरीको दाबी छ।

उनले २०६७ देखि फर्पिङमा गुम्बा सञ्चालन गरिरहेका थिए । प्रहरीका अनुसार लामाले १० वर्षअघि निजी पहलमा गुम्बा निर्माण गरी आफूलाई वौद्ध धर्मगुरुका रूपमा चिनाउँदै आएका थिए । व्यूरोले लामाको गुम्बास्थित निवासबाट यौनवर्धक जटिबुटी लगायतका औषधी समेत बरामद गरेको थियो । आफूलाई दशौं पुस्तासम्म एउटै कुलमा जन्मेको अवतारी लामा रहेको र जुनसुकै रोग निको पारिदिने प्रलोभन देखाएर युवतीहरूलाई गुम्बामा बोलाउने र बलात्कार गर्ने बाहिर कसैलाई भने अनिस्ट हुन्छ भन्दै दबाउने गरेको सिआइबीको अनुसनधानबाट खुलेको छ । उनी अहिले जेलमा छन् ।

१२. बाल यौन दुराचारको अभियोगमा राष्ट्रसंघका पूर्वअधिकृत पक्राउ

विपन्न परिवारका बालबालिकालाई पढाइ दिने भन्दै आश्वासन देखाएर बालकलाई जम्मा पार्ने र उनीहरूमाथि यौन शोषण गर्ने क्यानडियन नागरिक पिटर जोन डालगिल्सलाई चैत अन्तिम साता काभ्रेबाट पक्राउ परे । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले डालगिल्सलाई काभ्रेको मण्डन देउपुर नगरपालिकास्थित चिलकाजी महर्जनको घरबाट पक्राउ गरेको थियो । डालगिल्सले हिमालयन कम्युनिटी फाउण्डेशन नामक संस्था खोली २ वर्षयता नेपाल आउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका डालगिल्सको साथबाट २ जना बालकको उद्दार गरिएको छ । डालगिल्सले सन् २०१० देखि २०१४ सम्म सयुक्त राष्ट्र संघमा काम गरेको अनुसन्धानबाट खुलेको छ ।

१३. गणेश लामा जेलमा

७४ सालको अन्त्यतिर काठमाडौं प्रहरीले ‘गुण्डा नाइके’ गणेश लामालाई हतियारसहित पक्राउ गर्यो । काठमाडौंको गौशालाबाट एक थान पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ परेका लामा प्रहरीलाई छलेर भाग्न खोज्दाखोज्दै पक्राउ परे ।

प्रहरीले पक्राउ गरेपछि उनले हतियार आफ्नो नभएको र आफूलाई गोली हान्न आएकाहरूबाट खोसेर प्रहरीलाई दिने तयारी गरेको दाबी गरिरहे । सोही हतियार मुद्दामा उनी अहिले जेलमा छन् ।