काठमाडौं–स्पेनिस ला लिगा अन्तरगत आज रातिको भएको मड्रिड डर्बीमा एट्लेटिको र रियलले १–१ गोलको बराबरी खेलेपछि क्याटलान क्लब बार्सिलोनाको उपाधि होड बलियो भएको छ ।


ADVERTISEMENT


रियलको घरेलु मैदान सान्टियागो बर्नाबाओमा भएको भिडन्तको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको अवस्थामा दुवै टोली गोल गर्न सफल भए । क्रिस्टियानो रोनाल्डो र एन्टोइन ग्रिजमनको भिडन्तका रुपमा हेरिएको खेलमा दुवै खेलाडी गोल गर्न पनि सफल भए ।


ADVERTISEMENT

# # #


खेलमा अग्रता भने रियलले बनायो । उसका लागि रोनाल्डोले खेलको ५३ औँ मिनेटमा ग्यारेथ बेलको पासमा गोल गर्न सफल भए । तर रियलले यो अग्रता ४ मिनेट पनि बचाउन सकेन । एट्लेटिकोका लागि ग्रिजमनले ५७ औँ मिनेटमा गोल गरेपछि खेल १–१ को बराबरीमा पुग्यो ।

खेलको अन्तिम आधा घण्टा रियलले एट्लेटिकोलाई दबाबमा राखेपनि स्कोर गर्न सकेन । यो बराबरीपछि एट्लेटिकोले ३१ खेलबाट ६८ अंक जोडेको छ, समान खेलबाटै रियलले ६४ अंक जोड्दै लिगको तेस्रो स्थानमा छ ।

उता लिग लिडर बार्सिलोनाले लियोनेल मेसीको ह्याट्रिक सहयोगमा लेगानेसलाई ३–१ ले पराजित गरेको थियो । बार्सिलोनाले ३१ खेलबाट ७९ अंक जोडेको छ ।

यस्तोमा बार्सिलोना एट्लेटिको भन्दा ११ अंकले र रियल भन्दा १५ अंकले अघि छ । मड्रिड डर्बी बराबरीमा सकिएपछि उसलाई यो सिजनको ला लिगाको उपाधि जित्न झन् सहज भएको छ ।