काठमाडौं–नेपालले नउठाए पनि भारतले संविधान कार्यान्वयन, निर्वाचनमा सबै क्षेत्रका जनताको व्यापक सहभागिता र निर्वाचनपछि वाम गठबन्धनको सफलताको खुलेर प्रशंसा गर्ने तयारी गरेको छ । तर, नेपालका तर्फबाट आन्तरिक राजनीतिक विषयमा मोदीसँग छलफल नगर्ने तयारी छ ।


ADVERTISEMENT


‘भारतले नेपालको आन्तरिक परिस्थितिबारे कि त कुरै गर्नु हुँदैन, यदि गर्ने हो भने चुनावमा ७० प्रतिशतभन्दा बढी जनताको सहभागिता र त्यसबाट आएको जनमत खुलेर समर्थन गर्नुपर्छ,’ नेपाल भारत सम्बन्धका जानकार डा. निहार आर नायकले स्रोतसँग भने । भारतले नेपालको आन्तरिक होइन, नेपाल भारत द्विपक्षीय सम्बन्धबारे ध्यान दिनुपर्ने उनको सुझाब छ ।


ADVERTISEMENT

# # #


उनले भने, ‘७० प्रतिशत नेपालीले स्वीकार गरेका छन् र यही संविधानअन्तर्गत चुनावमा भाग लिएर संविधानका तत्कालीन विरोधी मधेसी दलहरू सत्ता साझेदारीका लागि प्रधानमन्त्रीसँग सौदाबाजी गरिरहेका छन् । अब के यो छलफलको इस्यु बनाउनु आवश्यक छ ? संविधानमा नेपालीहरूलाई नै समस्या छैन भने भारतलाई कहाँ के को समस्या छ ?’

उनले नेपालको प्रदेश–२ लाई मात्र केन्द्रमा राखेर रोटीबेटीको सम्बन्ध व्याख्या गर्न नहुने बताए । ‘नेपालका बाँकी प्रान्त, जनजाति र अन्य पहाडी समुदायसँग पनि भारतको रोटीबेटीको सम्बन्ध रहेको भुल्नु हुँदैन, सीमावर्ती क्षेत्रका पहाडी जनताको मनोविज्ञानलाई पनि भारतले सम्बोधन गर्नुपर्छ । उत्तराखण्डदेखि उत्तरप्रदेश, बिहार, पश्चिमबंगाल र सिक्किमका जनता र नेपालका जनताबीच पारिवारिक सम्बन्ध छ,’ नायकले भने । – आजको नयाँ पत्रिकाबाट