काठमाडौं–राष्ट्रिय जनता पार्टी नेपालको बैठक नबस्दा पार्टीका काम कारवाही प्रभावित भएका छन् । राजपा नेपालको बैठक एक महिनादेखि बसेको छैन । चुनावको समीक्षा तथा सरकारमा सहभागिताको विषय लिएर फागुन १३ गतेदेखि लगातर बसेको अध्यक्ष मण्डलको बैठकपछि कुनै औपचारिक बैठक बसेको छैन ।


ADVERTISEMENT


के के हुँदैछ प्रभावित ?


ADVERTISEMENT

# # #


बैठक नबस्दा संसदीय दलका नेता चयन, प्रदेश २ मा राज्यमन्त्रीको चयन, महाधिवेशनको मिति घोषणा, पार्टीको वार्षिक उत्सव मनाउने लगायतका कार्यक्रम प्रभावित भएका छन् ।

प्रमुख पाँच राष्ट्रिय पार्टीमध्ये एमाले, काँग्रेस, माओवादी केन्द्र र सङ्घीय समाजवादी फोरम नेपालले आ–आफ्नो संसदीय दलको नता चयन गरिसकेका छन् । तर, राजपा नेपालले अझै टुङ्गो लगाएको छैन । बैठक नबसेको कारण नेता चयन हुन नसकेको बताउँछन् नेताहरू ।

राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले पार्टीको बैठक बस्ने बित्तिकै नेता चयनको कुरा टुङ्गिने बताए । तर बैठक कहिले बस्ने टुङ्गो लागेको छैन ।

प्रदेश २ मा फोरम र राजपाको संयुक्त सरकार गठन भएको छ । फोरम नेपालले मन्त्री तथा राज्य मन्त्री चयन गरिसकेको छ । तर, राजपा नेपालले मन्त्री चयन गरे पनि राज्यमन्त्री अझै टुङ्गो लगाएको छैन । पार्टीमा राज्यमन्त्रीको आकाङ्क्षी धेरै भएपछि टुङ्गो लगाउन गाह्रो भइरहेको नेताहरू बताउँछन् ।

त्यस्तै, राजप नेपाल एकीकरण घोषणा भएको दिनदेखि एक वर्षभित्र महाधिवेशन गर्ने निर्णय भएको थियो ।

वैशाख ७ गते राजपा नेपाल गठन भएको हो । आउने वैशाख ७ गते एक वर्ष हुँदैछ । तर, महाधिवेशन कहिले गर्ने अझै टुङ्गो लागेको छैन । त्यो पनि बैठक नबसेको कारण टुङ्गो नलागेको नेताहरूको दाबी छ ।
छवटा दल एकीकरण गरेर बनेको राजपा नेपालमा महाधिवेशनपछि कस्तो नेतृत्व हुने हो, कसले नेतृत्व लिने हो । त्यसको बारेमा आन्तरिक विमर्श पनि आआफ्नो ढङ्गले सुरु गरेको छ । पार्टीलाई आआफ्नो पकडमा राख्नका लागि भित्रभित्र चलखेल भइरहेको बताइएको छ ।

त्यस्तै, पार्टीको वार्षिक उत्सव मनाउने विषयमा पनि कुनै छलफल भएको छैन । आउने वैशाख ७ गते पार्टी गठन भएको एक वर्षको उपलक्ष्यमा कार्यक्रम गर्ने चर्चा चले पनि त्यसको तयारीको बारेमा कुनै छलफल भएको छैन ।

बैठक नबसेका कारण यस विषयमा पनि छलफल नभएको हो ।

के के भयो निर्णय ?

त्यसो त राजपा नेपालले फागुन २४ गते राष्ट्रपतिमा विद्या देवी भण्डारी र फागुन २७ गते केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा विश्वासको मत दिने भनी अनौपचारिक छलफल गरी निर्णय गरेको थियो ।

पार्टी कार्यालयमा हुँदा अध्यक्ष मण्डलका सदस्यहरू आपस देशका अन्य समसामयिक विषयमा छलफल दिनहुँ जस्तो गरिरहेका हुन्छन् । तर, विवादित विषय जस्तो संसदीय दलको नेता र राज्यमन्त्रीको विषयमा नेताहरूले छलफल चलाउँदैनन् ।

यसका लागि अध्यक्ष मण्डलको पूर्ण र औपचारिक बैठक नै बस्नुपर्ने नेताहरू बताउँछन् । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले पार्टीका नेताहरू उपत्यका बाहिर रहेका हुनाले बैठक बस्न नसकेको बताए ।

जिल्लाबाट फर्किने वित्तिकै चाँडै बैठक बसेर सबै कुराको टुङ्गो लगाउने उनले बताए । उनले भने, नेताहरू काठमाडौं फर्केपछि दुई चार दिनमा बैठक बसेर सबै कुरा टुङ्ग्याइन्छ ।’