काठमाडौं–नाइजेरियाको उत्तरपश्चिमी क्षेत्र जाम्फारामा सशस्त्र लुटेराले आक्रमण गर्दा कम्तीमा ३२ जनाको ज्यान गएको छ भने केही हराइरहेका छन् । मृत्यु हुनेमा केही महिला तथा बालबालिकासमेत रहेको बताइएको छ ।


ADVERTISEMENT


सन् २०१८ को खेती लगाउने समयसँगै हुनसक्ने लुटेराको आक्रमणलाई प्रतिकार गर्ने योजना बनाउन स्थानीय बवन दाजी गाउँमा भेला भएका गाउँलेहरूमाथि लुटेरा समूहले बिहीबार आक्रमण गरेको सिन्ह्वाले जनाएको छ ।


ADVERTISEMENT

# # #


समाचार अनुसार, लुटेराले आक्रमण गर्नु पहिले गाउँमा कुनै खेतीजन्य गतिविधि नगर्न चेतावनी दिएका थिए । तर चेतावनीविपरीत खेतीकार्यमा लागेपछि गाउँलेहरुमाथि आक्रमण भएको बताइएको छ ।

अङ्काको स्थानीय प्रशासन प्रमुख मुस्तफा गाडाले घटनाको पुष्टि गर्दै मृतक गाउँलेको अन्तेष्टि गरिएको बताए । उक्तस्थान वरपर गाउँलेका थप मृत शरीर रहेको हुनसक्ने अनुमान गरिएको छ ।

घटनालगत्तै त्यहाँ सुरक्षाकर्मीको ठूलो फौज तैनाथ गरिएको र लुटेराहरू गाउँबाट भागेको नाइजेरियाका सरकारी अधिकारीले जनाएका छन् ।