ललितपुर–घटना १
चैत ८ गते सातदोबाटो प्रहरी वृत्तनजिकै राजेश बराइलीले ५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरे । घटनाको केही बेरमा प्रहरीले पीडकलाई घरैबाट समात्यो । अहिले उनी प्रहरी हिरासतमा छन् ।


ADVERTISEMENT


घटना २
बाँडेगाउँमा चैत ६ गते दीपेश्वर शाह चक्रवर्तीले ७ वर्षकी बालिकालाई बलात्कार प्रयास गरे । उनले बालिकालाई ललाइफकाई कोठामा लगी खाटमा सुताएको, बालिकाको कपडा खोलिदिएको र आफ्नो कपडा खोलेको बालिकाले बताएकी छन् । प्रहरीले उनलाई पक्राउपछि अनुसन्धान गरिरहेको छ ।


ADVERTISEMENT

# # #


घटना ३
चैत ८ गते ललितपुरको बडीखेलमा सानुभाइ पहरी आफ्नै भान्जीको कोठामा चिया खाने निहुँ पारेर गए । चिया पकाउने भाँडो माझ्न लाग्दा उनले जबर्जस्ती तानेर भान्जीलाई ‘बाथरुम’भित्र लैजान खोजे । भान्जीले प्रतिकार गरिन् । त्यसक्रममा उनको कुर्ता च्यातियो र नङसमेत गाडियो । घटनाबारे सातदोबाटोस्थित प्रहरी वृत्तमा जाहेरी दर्ता भएको छ ।

यसरी ललितपुरमा पछिल्लो समय शृंखलाबद्ध बलात्कारका घटना सार्वजनिक हुँदै आएका छन् । अधिकांश घटनामा बालिका नै पीडित भएका छन् । सातदोबाटो प्रहरी वृत्तका डीएसपी विनोद सिलवालका अनुसार चैतमा मात्रै चार वटा करणीको जाहेरी दर्ता भएका छन् । उनले भने, ‘बालिका करणी गर्न खोजिएको घटना धेरै छन् ।’ उनका अनुसार यस वर्ष सातदोबाटो वृत्तमा मात्रै सात वटा बलात्कारका घटना दर्ता भएका छन् ।

चैतमा नै चार वटा बलात्कारका जाहेरी परेका छन् । तीमध्ये तीन घटनामा बालिका पीडित छन् । चैत ६ गते बागमती गाउँपालिका–४, प्युटारकी ७ वर्षीया बालिकालाई आफ्नै नाता पर्ने कृष्ण बमजनले करणी गर्न खोजेको आरोपमा पक्राउ गरी अदालतबाट थुना म्याद थपेर चापागाउँ प्रहरी वृत्तले अनुसन्धान गरिरहेको छ । घटनालगत्तै फरार बमजनलाई प्रहरीले मकवानपुरबाट समातेर ल्याएको थियो । चापागाउँ वृत्तका डीएसपी रवीन्द्र रेग्मीले उनीमाथि अनुसन्धान अघि बढेको जानकारी दिए ।

रेग्मीका अनुसार सुनाकोठीमा ७ वर्षीया बालिकालाई ज्यामी काम गर्ने तराई मूलका एक व्यक्तिले फागुन अन्तिममा बलात्कार प्रयास गरेका थिए । चापागाउँ वृत्तको रेकर्डअनुसार गोदावरीमा ११ वर्षकी र शंखुमा १३ वर्षकी बालिका बलात्कारमा परेका छन् । ‘कतिपय आरोपीमाथि अनुसन्धान चलिरहेको छ त कुनै पीडक जेल चलान भइसकेका छन्’, रेग्मीले भने ।

उनका अनुसार ‘बेइज्जत हुने’ भन्दै कतिपय घटना आपसमा मिलाउने गरिएको छ । घटना बाहिर सार्वजनिक भइसकेपछि मात्रै प्रहरीकहाँ पुग्ने प्रवृत्ति देखिएको उनले बताए । खासगरी बढी उमेर समूहका बलात्कारका घटना लुकाउन पीडक र पीडितबीच मिलेमतोहुने गरेको छ । ‘करणीको मुद्दामा धेरैजसो बालिका पीडित भएको देखिएको छ’, उनको कथन थियो ।

साउनयता जावलाखेल प्रहरी परिसरमा नौ वटा बलात्कारका घटना दर्ता भएका छन् । जावलाखेल प्रहरी परिसरका डीएसपी नरेन्द्र चन्दले असार मसान्तयता नौ महिनामा ललितपुर जिल्लाभर २४ वटा बलात्कारका घटना भएको बताए ।–आजको अन्नपूर्ण पोस्टबाट