काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त घरहरूको प्रवलीकरणका लागि अभियान सुरू गर्ने भएको छ ।


ADVERTISEMENT


भूकम्पपछिको पुनर्निर्माणमा उल्लेख्य प्रगति भइरहे पनि प्रवलीकरणमा खासै प्रगति हुन नसकेको निष्कर्ष निकाल्दै प्राधिकरणले सामान्य क्षति पुगेको तर बस्न मिल्ने घरलाई मर्मत गरेर भूकम्प प्रतिरोधी बनाउने अभियान सञ्चालन गर्ने निर्णय गरेको प्राधिकरणका सहप्रवक्ता डा। भीष्म भुषालले बाह्रखरीलाई जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्राधिकरणका अनुसार हालसम्म भुकम्प प्रभावित ३२ जिल्लाका २४ हजार ९ सय ९१ निजी घरहरू प्रवलीकरण गर्ने सुचीमा रहेका छन् ।

प्रवलीकरणलाई अगाडि बढाउन विकास साझेदार संस्थाहरु डीएफआईडी, यूएनओपिएस तथा बिल्ड चेञ्जले प्राधिकरणलाई सहयोग गर्ने प्राधिकरणले जनाएको छ ।

यी तीन संस्थाबीच आगामी २ बर्षभित्र २ हजार प्राविधिक कर्मचारी र १२ हजार डकर्र्मीलाई प्रवलीकरणको तालिम दिने सहमति भएको छ ।

तालिमका क्रममा १ हजार भुकम्प प्रभावितको क्षतिग्रस्त घर प्रवलीकरण हुने प्राधिकरणको भनाइ छ ।

त्यस्ता तालिमका क्रममा स्थानीय सरकारको सिफारिसमा जोखिमयुक्त वर्गमा परेका लाभग्राहीका घरहरु समेत प्रवलीकरण गर्ने प्राधिकरणको लक्ष्य छ ।

प्राधिकरणका अनुसार युएनओपिएसले प्रवलीकरण सम्बन्धी आयोजना प्रस्ताव अध्ययन गरी प्राधिकरणमा पेश गरिसकेको छ । प्राधिकरणको आवास, बस्ती विकास तथा स्थानीय पूर्वाधार महाशाखाले उक्त प्रस्ताव अध्ययन गरी त्यसलाई अन्तिम रुप दिई एक हप्ताभित्र शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई कार्यान्वयनको जिम्मा दिने छ ।

प्रवलीकरणलाई अघि बढाउन हाल प्राधिकरण, शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, यूएनओपिएस, डीएफआईडी तथा बिल्ड चेञ्जका अधिकारीहरुले प्रबलीकरणको पाठ्यक्रम निर्माण गरिरहेको र यसलाई चैत्रतेश्रो साताभित्रै अन्तिम रुप दिने तयारी भएको प्राधिकरणका सहसचिव प्रकाश थापाले जानकारी दिए ।

पाठ्यक्रम निर्माण भएपछि २०७५ वैशाख पहिलो सातादेखि एकसाथ ४ स्थानमा प्राविधिक कर्मचारीहरुलाई पवलीकरण तालिम सञ्चालनसँगै डकर्मी तालिम पनि आयोजना गर्ने प्राधिकरणको योजना रहेको प्राधिकरणले जनाएको छ ।

प्रवलीकरण कार्यको शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाईले समन्वय र अनुगमन गर्ने पनि प्राधिकरणको भनाइ छ ।