काठमाडौँ — नेपालले एसियन कप २०१९ छनोटको अन्तिम खेलमा मंगलबार यमनको सामना गर्दै छ । महादेशीय फुटबलको सर्वोच्च प्रतियोगितामा छनोट हुने नेपालको सम्भावना यसअघि नै समाप्त भइसकेको छ ।


ADVERTISEMENT


यमनका लागि भने दोहामा हुने खेलले ठूलै महत्त्व राख्छ । किनभने उसको फाइनल चरण पुग्ने सम्भावना यही खेलमा निर्भर छ ।


ADVERTISEMENT

# # #


गत वर्ष हल्चोकमा भएको खेलमा नेपालले यमनविरुद्ध गोलरहित नतिजा निकालेको थियो । एसियन कप छनोटमा नेपालले पहिलो अंक त्यसै खेलबाट जोडेको थियो । त्यसपछि बलियो मानिएको फिलिपिन्सलाई पनि नेपालले सातदोबाटोमा गोलरहित नतिजामै रोक्यो । तर बाँकी तीन खेलमा भने नेपाल पराजित रह्यो । त्यसैले यमनविरुद्ध सुहेम विन हमिद स्टेडियममा हुने खेल प्रतिष्ठाको विषयमै केन्द्रित हुनेछ ।

यमनविरुद्धको खेलले ठूलै महत्त्व नराख्ने भएकाले पनि हुनसक्छ, राष्ट्रिय टिमको तयारी त्यति गतिलो भएन । खेलाडीहरू मोफसलका प्रतियोगितामै व्यस्त रहे । ‘एक टिमका रूपमा तीन दिनमात्र प्रशिक्षण गर्न पायौं । तैपनि शतप्रतिशत दिएर खेल्ने प्रयास गर्नेछौं,’ नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले दोहामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘यमन राम्रो टिम हो । प्राविधिक र शारीरिक रूपमा उसका खेलाडी सशक्त छन् । ट्याक्टिसको कुरा गर्ने हो भने दुई टिममा त्यस्तो भिन्नता छैन । खेल जित्न गाह्रो छ तर हामी प्रयास गर्नेछौं ।’

फिफा वरीयतामा यमन १ सय ४० र नेपाल १ सय ६५ औं स्थानमा छन् । विगतका भेटमा खाडी मुलुक हाबी भएको थियो । उसले सन् २००० मा भएको एसियन कप छनोटमा नेपाललाई ३–० ले हराएको थियो भने चार वर्षअघि दोहामा सम्पन्न मैत्रीपूर्ण खेलमा पनि २–० को जित दर्ता गरेको थियो । हारको क्रम भंग गर्दै नेपालले एसियन कप छनोटमा गत वर्ष घरेलु मैदानमा यमनसँग अंक खोसेको थियो ।

थ्रीस्टारबाट बुढासुब्बा गोल्डकपको फाइनल खेल्ने क्रममा खुट्टा भाँचिएका मिडफिल्डर विक्रम लामा र लगातार दुई खेलमा पहेँलो कार्ड बेहोरेका विंगररफरवार्ड भरत खवासलाई नेपालले दोहामा गुमाउने छ । मिनेरवा पन्जाबलाई भारतको आई लिग च्याम्पियन बनाउन योगदान गरेका गोलकिपर किरण चेम्जोङ, इन्डोनेसियन प्रेसिडेन्ट कप विजेता पर्सिजा जकार्ताका मिडफिल्डर रोहित चन्द पनि टोलीमा उपलब्ध छन् । त्यसैले पनि नेपालले राम्रो खेल पस्कने अपेक्षा गरिएको छ ।

‘एसियन कपमा छनोट हुन नसक्ने भए पनि हाम्रा लागि खेल महत्त्वपूर्ण छ । यसलाई साफ च्याम्पियनसिपको तयारीमा लिएका छौं,’ कप्तान विराज महर्जनले भने । नेपाली टोलीले सोमबार सुहेम विन स्टेडियममा एक घण्टा अभ्यासमा बितायो ।

गृहयुद्धका कारण ५ वर्षयता घरेलु मैदान दोहालाई बनाउँदै आएको यमनका लागि भने नेपालसँगको खेल निकै महत्त्वपूर्ण छ । तीन अंक जोड्न सके समूह ‘एफ’ को शीर्ष दुईमा रहँदै यमन एसियन कपलाई छनोट हुनेछ । अन्य नतिजामा भने उसको भाग्य मनिलामा फिलिपिन्स र ताजिकिस्तानबीच मंगलबार नै हुने खेलमा निर्भर हुनेछ ।

एसियन कप २०१९ छनोट

समूह ‘एफ’ अंकतालिका