काठमाडौं–पार्टीभित्र गुटको नेता बन्दै ०५९ मा अलग्गै पार्टी गठन गरेका शेरबहादुर देउवा ०६४ मा पुरानै घर फर्किए । तर, एकीकरणपछि पनि पार्टीभित्र फरक धार स्थापित गर्ने अभ्यासमा निरन्तर जुटिरहे । अन्ततः सुशील कोइरालाको शेषपछि ०७२ फागुनमा कोइराला परिवारको बिरासत ढालेर उनी भारी मतले कांग्रेस सभापतिमा निर्वाचित भए । कोइराला खानदानको बलमा संस्थापन पक्षबाट निर्वाचन लडेका रामचन्द्र पौडेल पराजित भए । कांग्रेसमा ६ दशकभन्दा लामो कोइराला बिरासत ढाल्ने पहिलो व्यक्ति देउवा नै बने ।


ADVERTISEMENT


देउवाले कांग्रेसको नेतृत्व हाँकेको दुई वर्ष पूरा भइसकेको छ । पार्टी नेतृत्वमा उनको यो अवधि उतारचढावपूर्ण बित्यो । ३ चैत ०७२ देखि सभापतिको औपचारिक कार्यभार सम्हालेका उनले यो अवधिमा प्रतिपक्षमा रहेको पार्टीलाई माओवादीसँग मिलेर सत्तारूढ बनाए । सरकारको नेतृत्व आफैँले गरेर स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन फत्ते गराए । संविधानको विरोधमा रहेका मधेसी दललाई अन्ततः तीनै तहको निर्वाचनमा सहभागी गराउन सफल भए । स्थानीय तहको पहिलो चरणको निर्वाचन कांग्रेसको समर्थनमा बनेको माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले गरेको थियो भने दोस्रो र तेस्रो चरणको निर्वाचन माओवादीको सहयोगमा देउवाले गरेका हुन् । राजनीतिक ‘डेडलक’ खोल्न देउवाको भूमिका महत्वपूर्ण रह्यो ।


ADVERTISEMENT

# # #


तर, यी तीनै तहको निर्वाचन नतिजा कांग्रेसको पक्षमा कमजोर देखियो । निर्वाचन नतिजा आफ्नो पक्षमा पार्न नसकेपछि पार्टीभित्रै उनी आलोचकहरूको घेराबन्दीमा छन् । एमाले– माओवादीको सत्ता गठबन्धन टुटाएर पहिले प्रचण्डलाई प्रधानमन्त्री बनाएर पछि आफैँ नेतृत्व लिएका उनी निर्वाचन नतिजाकै कारण सबैभन्दा बढी आलोचित भएका छन् ।

आफूसँगै सत्तारूढ भएकै वेला माओवादीले एमालेसँग मिलेर वाम गठबन्धन बनाएको भेउ नपाएको आरोप उनीमाथि छ । दुई कम्युनिस्ट शक्तिको गठबन्धन फुटाउन प्रभावकारी भूमिका खेल्न नसकेको दोष पनि उनीमाथि छ । तर, देउवा भने आफूले नेतृत्व गर्दा कांग्रेस कमजोर नबनेको दाबी गर्छन् । कांग्रेस उत्तिकै बलियो रहेको तर दुई ठूला कम्युनिस्ट पार्टी मिल्दा पराजय भोग्नुपरेको उनको तर्क छ । समानुपातिक निर्वाचन प्रणालीमा एमालेकै हाराहारीमा मत आएको उदाहरण दिँदै देउवा कांग्रेस कमजोर नभएको दाबी गर्दैछन् । तर, प्रभावशाली नेता मात्रै होइन सातवटै प्रदेशमा एउटा पनि सरकार गठन गर्न नसक्ने मत आएपछि देउवा नेतृत्वमाथि सयौँ प्रश्न उठाइएका छन् ।

युवा नेता प्रदीप पौडेल राजनीतिक निकासका लागि सभापतिको अग्रसरता र कदम सकारात्मक रहे पनि पार्टीलाई नतिजा दिलाउन असफल भएको बताउँछन् । ‘उहाँ सभापति हुँदा कांग्रेस प्रतिपक्षमा थियो । सभापति भएपछि कांग्रेसलाई सत्तामा पुर्‍याउनुभयो । माओवादी र मधेसी दलसँग समझदारी गरेर संविधान कार्यान्वयनको प्रक्रिया अघि बढाउँदै स्थानीय तह, प्रदेश, संघको निर्वाचन गराउनुभयो,’ पौडेलले भने, ‘तर, आफ्नै नेतृत्वमा निर्वाचन गराउँदासमेत कांग्रेसले परिणाम आफ्नो पक्षमा पार्न सकेन । पार्टीमा समझदारी कायम गराउन नसक्ने र पार्टी परिचालनमा चुक्दा हामी यो नतिजा व्यहोर्न बाध्य भयौँ ।’– आजको नयाँ पत्रिकाबाट