अनेरास्ववियुकी अध्यक्ष नवीना लामा प्रतिनिधिसभाको सदस्यमा चयन भएपछि अहिले अखिलको नेतृत्व खाली हुने अवस्थामा छ । संगठनको प्रत्येक २ वर्षमा हुने  महाधिवेशनको बारेमा अहिले बहस चलिरहेको छ । लामाको राजीनामापछि नयाँ नेतृत्वको लागि थुप्रै उम्मेदवार बन्ने आकांक्षा पालेर बसेका छन् । त्यस्तैमध्ये एक ऐन महर पनि हुन् । महाधिवेशन कहिले हुन्छ ? अबको नेतृत्व कस्तो आउनुपर्छ ? पार्टी एकतासंगै अखिल क्रान्तिकारीसंग पनि एकता भएमा कसरी अगाडि बढ्नुपर्छ ? व्यक्तिगत रुपमा महरको नेतृत्वका लागि दाबी किन ? लगायतका विषयमा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुका महासचिव ऐन महरसंग हिमालय पोष्टले गरेको कुराकानी :


ADVERTISEMENT


अखिलको पछिल्लो गतिविधि के छ बताइदिनुस् न ?


ADVERTISEMENT

# # #


खासमा अखिलको २२ औँ राष्ट्रिय महाधिवेशन भएको दुई वर्ष भयो । नियमित रुपमा प्रत्येक २ वर्षमा हामीले महाधिवेशन सञ्चालन गर्ने गथ्यौँ । तर यस पटक त्यसो हुन सकिरहेको छैन । महाधिवेशनको तयारीमा जुट्दा पनि विगतमा निर्वाचन र अहिले पार्टी एकताले यसलाई ढिला गरिरहेको हो । पार्टी एकतालाई असहज नहोस् भनेर हाम्रो पार्टीले सबै भातृ संगठन तथा तल्ला कमिटीको महाधिवेशन नगर्न निर्देशन दिएको छ । हामीले २३ औँ महाधिवेशन गर्नुपर्ने बेला थियो । त्यसलाई स्थगित गरेका छौँ । यस्तो बेलामा के गर्ने, कसरी अगाडि बढ्ने भन्ने विषयमा हामी छलफल अगाडि बढाइरहेका छौँ । अर्कोतर्फ हाम्रो संगठनको अध्यक्ष प्रतिनिधिसभाको सदस्य पनि हुनुभएको छ । संगठनको अध्यक्षले बिदा हुन चाहेको अवस्था छ । नैतिकताका आधारमा उहाँले राजीनामा दिन खोज्दै हुनुहुन्छ । त्यसैले अब संगठनलाई कसरी कतातिर लैजाने भन्ने कुरामा व्यापक बहस चलिरहेको छ । हामी सम्पूर्ण रुपमा यसैमा केन्द्रित भएका छौँ । सामान्यतः हामी नयाँ नेतृत्वका लागि काम गरिरहेका छौँ ।

पुनर्गठन पश्चात अखिलको नयाँ नेतृत्व कसरी आउँदैछ ? किनकी अर्कोतर्फ पार्टी एकतापछि माओवादीको संगठन पनि गाँसिएला नि ?

महाधिवेशन गरेको भए चुनाव पनि हुनसक्थ्यो । देशभरिबाट प्रतिनिधिपनि आउँथे । अथवा सर्वसम्मती पनि हुनसक्थ्यो । तर त्यो नहुने भइसकेपछि अहिले हाम्रो अखिलमा पनि एक प्रकारको संक्रमणकालको सुरुवात भएको छ । भनेको के हो भने हाम्रो संगठनको अध्यक्षले बिदा हुन्छु भनेको अवस्थामा यति खेर हाम्रा अगाडि धेरै महत्वपूर्ण जिम्मेवारी थपिएका छन् । समृद्धिको महाअभियानमा सहभागी हुनुपर्नेछ । देशमा युवाहरुको लागि रोजगारका अवसर सिर्जना गर्नुपर्ने अवस्था छ । सम्रग शैक्षिक पुर्नसंरचना गर्दै एक प्रकारको गुणत्मक शिक्षा प्रदान गर्ने कुराको अगुवाई गर्नुपर्ने अवस्था छ । फेरि अर्को महत्वपूर्ण कुरा भनेको दुई पार्टीबीचको एकता रहेको छ । क्रान्तिकारी र हाम्रो बीचमा पनि एकता हुन्छ । चुनाव भन्दापनि हामी सर्वसहमतीका माध्यामले नयाँ नेतृत्व निर्माण गर्नुपर्ने कुरा गरिरहेका छौँ । त्यो सर्वसम्मती केन्द्रिय कमिटीमा हुनुपर्छ । अब हामी छिट्टै केन्द्रिय कमिटीको बैठक बोलाउँछौँ । त्यसले नै सर्वसम्मतीको वातावरण निर्माण गर्छ ।

तपाईले जिम्मेवारीका जुन कुराहरु गर्नुभयो । तिनको कार्यन्वयनका लागि त नेतृत्व योग्य र क्षमतावान हुनुपर्यो । अबको अखिलको नेतृत्व कस्तो हुनु आवश्यक छ ?

नेतृत्व महत्वपूर्ण चिज हो । यसका विषयमा अत्यन्तै गम्भीर बन्नुपर्छ । पुष्पलालले ‘नेताभन्दा पनि नीति मुख्य कुरा हो’ भन्नु भएको थियो । यो एक किसिमले ठिकै कुरा हो । तर निरपेक्ष रुपमा नेताभन्दा नीतिमा मात्रै हामीले ध्यान दिएर पनि सही ठाउँमा पुगिँदो रैनछ । यसको दृष्टान्त के हो भने नेकपा एमालेसंग जनताको बहुदलीय जनवाद ४९ सालमा पाँचौँ राष्ट्रिय महाधिवेशनबाट पारित भएको चिज हो । तर मदन भण्डारीको देहान्तपश्चात एमालेले खास गती लिन सकेन ।

 नयाँ कार्यदिशा पक्रन सक्ने, नयाँ एजेण्डा स्थापित गर्न सक्ने, अहिलेको आवश्यकता अनुसारका एजेण्डा बोक्न सक्ने खालको नेतृत्व आवश्यक हो ।

तर जब केपी ओली नेतृत्वमा आउनुभयो । एमालेमात्र नभई देशले पनि गती लियो । यसको मतलब के हो त भन्दा नीति महत्वपूर्ण त छँदै नै छ । तर त्यसको संगसंगै नीतिलाई सही ढंगले कार्यान्वयन गर्ने नेतृत्व हुनु पनि त्यत्तिकै महत्वपूर्ण हुँदोरहेछ । त्यस कारण विद्यार्थी संगठनको सन्दर्भमा पनि त्यही हो । विद्यार्थी आन्दोलन पनि अहिले संक्रमणकालमा छ । त्यो भनेको पूराना मुद्दाहरु सकिएका छन् । अब राजनीतिक मुद्दा मात्रै बोकेर विद्यार्थी आन्दोलन अगाडि बढ्न सक्दैन । समयसंगै विद्यार्थी संगठनले पनि एजेण्डा परिवर्तन गर्नुपर्छ ।

अब दुई संगठनको एकतापछि सफल रुपमा अगाडि लैजानका लागि क्रियाशील ढंगले खट्न सक्छु । समय अनुसारका एजेणलाई अगाडि सार्दै सिंगो विद्यार्थी संगठनलाई परिचालन गर्नसक्छु भन्ने विश्वास मलाई छ ।

विद्यार्थी आन्दालेनको औचित्यमाथि उठेको प्रश्न चिन्हलाई जवाफ दिनसक्ने नेतृत्व चाहिएको छ । हिजो राजतन्त्र हटाएर गणतन्त्र स्थापना गर्नका लागि आन्दोलनमा विद्यार्थी चाहिएको थियो । अब यसको के काम भन्ने खालका प्रश्न उठ्न थालेका छन् । विद्यार्थी संगठनको काम त सडक जाम गर्ने हो । चक्काजाम गर्ने हो । ढुंगामुडा हान्ने हो भन्ने जुन किसिमको मानसिकता स्थापित भएको छ । यसलाई चिर्नसक्ने नेतृत्व अहिले चाहिएको छ । हो, त्यो नयाँ कार्यदिशा पक्रन सक्ने, नयाँ एजेण्डा स्थापित गर्न सक्ने, अहिलेको आवश्यकता अनुसारका एजेण्डा बोक्न सक्ने खालको नेतृत्व आवश्यक हो । यति मात्र होइन इमान्दार भएर बोल्ड डिसिजन गर्नसक्ने तथा आम कार्यकर्ता र सिंगो संगठनलाई परिचालन गर्न सक्ने नेतृत्व अहिले चाहिएको छ ।

त्यसको लागि को होला त योग्य व्यक्ति ? तपाईले आफूलाई कुन स्थानमा राख्नु भएको छ ? एउटा महासचिव भइसकेको व्यक्ति नेतृत्व तहमा पुग्दा काम गर्न कत्तिको सहज हुन्छ ?

अब काम गर्न स्वभाविक रुपमा सहज भइहाल्छ । किनभने जिम्मेवारीका हिसाबले पनि महासचिव माथि नै हुन्छ । उसले संगठन, राजनीति बुझेको पनि हुन्छ । संगठन कसरी सञ्चालन गर्ने भन्ने कुरा उसले राम्रोसंग थाहा पाएको हुन्छ । जसले संगठन सञ्चालनका लागि बल प्रदान गर्दछ । जहाँसम्म नेतृत्व कसले लिने भन्ने कुरा छ । त्यो कुरा मैँले माथि भनेजस्तै ती कामहरुलाई जिम्मेवार भएर सम्हाल्न सक्ने व्यक्ति चाहिन्छ । माथि भनेका कुराहरुलाई सही तरिकाले अगाडी बढाउन सक्ने क्षमता मसंग छ भन्ने कुरा हो । यो दाबी मात्रै होइन । मेरा क्रियाकलाप, मेरा गतिविधिहरु, मेरो विगतको पृष्ठभूमीलाई तपाईले हेर्नुभयो भनेपनि त्यसले पुष्टी गर्दै आएको छ । त्यस कारण अहिलेको विद्यार्थी आन्दोलनलाई सही ढंगले हाक्न सक्ने, विद्यार्थी आन्दोलनका आवश्यकताहरुलाई बोक्न सक्ने नेतृत्व चाहिन्छ ।

यतिमात्रै होइन । अब एकतापछि दुई संगठनलाई एक बनाएर सफल रुपमा अगाडि लैजान सक्ने नेतृत्वको आवश्यकता छ । हो, यही कुरालाई दायित्वबोध गर्नसक्ने काम मैँले गर्न सक्छु । क्रियाशील ढंगले खट्न सक्छु । यतिमात्रै नभई सिंगो विद्यार्थी संगठनलाई परिचालन गर्नसक्छु भन्ने विश्वास मलाई छ । यही कारण नै मेरो दाबी हो । अर्को चुनौति पनि छ । त्यो भनेको अहिलेको युवा पंक्ति राजनीतिप्रति त्यती आकर्षित छैनन् । यो नै चुनौतिको विषय हो । यदि आजको नयाँ अनुहारले राजनीतिलाई घृणा गर्न थाल्यो भने, राजनीतिप्रति आकर्षित भएन भने आजको २०-२५ वर्षपछि देशमा राजनीतिक नेतृत्वको खडेरी पर्छ । त्यो भएमा देश फरि कर्मचारीतन्त्र, व्यापरीहरुको हातमा पर्छ । फेरि लोकतन्त्र धरापमा पर्छ । यो अहिलेको अवस्थामा धेरै चिन्ताको विषय बनेको छ । यी सबै काम म गर्न योग्य छु भन्ने मेरो भनाई हो ।

यसमा ऐन महरलाई सर्वसम्मत ल्याउनका लागि कत्तिको सकस भइराखेको छ ? किनकी यो बेलामा त धेरै आकांक्षी देखिएका छन् । फेरि एकताको कुरा पनि छ ।

अब राजनीतिमा एक जना मात्रै हुँदैन । सबैले आ–आफ्नो भूमिका खोजि नै हाल्छन् । अनेरास्ववियु पनि एक आन्दोलन हो । यहाँ पनि धेरै लामो समयदेखि काम गरेका साथीहरु छन् । ऐन महर एक जनामात्रै छ भन्ने पनि छैन । तर पनि त्यसका बीचबाट एउटा योग्य व्यक्ति निकाल्नुपर्ने हुन्छ । दशौँ लाख विद्यार्थी रहेका अनेरास्ववियुमा अध्यक्ष हुने सबैले चाहाना राख्छन् । तर एकैचोटी त त्यो सम्भव छैन नि ? त्यस कारण हाम्रो पद्धती अनुसार उपाध्यक्ष वा महासचिवबाट नेतृत्वको आकांक्षा राख्ने हाम्रो प्रचलन छ । त्यसैले अहिले उपाध्यक्ष रहेका चार जना साथीहरुले आकांक्षा राख्नु त स्वभाविक नै छ । म पनि भइहालेँ ।

सामान्यतः म हुने भन्ने कुरा बढी प्राकृतिक छ भन्ने कुरा हो । यो आम कार्यकर्ताको बुझाई पनि हो । किनभने पहिलको कुरा त मैँले एक कार्यकाल उपाध्यक्षका रुपमा कुशलतापूर्वक जिम्मेवारी पूरा गरेर महासचिव भएको व्यक्ति हुँ । अर्को कुरा आन्दोलनमा सबै आथीहरुले आ–आफ्नो तर्फबाट सहभागिता त गरिरहेका छन् । तर आम विद्यार्थी, युवा कार्यकर्ताहरु ऐन महरले नेतृत्व सहज रुपमा हाँक्न सक्छ भन्ने कुरा पनि उठिरहेको छ । अर्को कुरा हामी समावेशी प्रतिनिधित्वको कुरा गछौँ । तर म त्यस्तो भूगोलको प्रतिनिधित्व गरिरहेको छु । जहाँबाट अध्यक्ष त परको कुरा महासचिव हुने पनि म नै पहिलो व्यक्ति हुँ । त्यस कारण पनि म नेतृत्वमा हुनुपर्छ भन्ने कुरा हो । अरु योग्यता, क्षमताले पनि म सही नै छु । अर्को महत्वपूर्ण कुरा पार्टीको मप्रति विश्वास छ । त्यसो भएको नाताले मैँले नेतृत्व प्राप्त गर्छु भन्ने विश्वास हो । तर अरु साथीहरुको पनि उचित व्यवस्थापनका लागि हामीले पहलकदमी गर्नुपर्छ ।

यत्रो संगठनको नेतृत्त्वका लागि दाबी गरिरहनु भएको छ । यसको नेतृत्वको दाबी गरिरहेका अन्य व्यक्ति र तपाईका विद्यार्थी कार्यकर्ताहरुलाई ऐन महरको बारेमा कसरी चिनाउनुहन्छ ? तपाईको प्रोफइलको बारेमा बताइदिनुस् न ।

ऐन महर नेपालको अत्यन्तै विकट, पिछडिएको दुर्गम जिल्ला बझाङको एउटा मध्यम किसान परिवारमा जन्मिएको व्यक्ति हो । ऐन महर एउटा इमान्दार, कर्मठ संघर्षशील तथा कर्ममा विश्वास गर्ने र आन्दोलनप्रति प्रतिवद्ध व्यक्ति हो । २०५५ सालमा सुरुमा त्रिचन्द्र र पछि अमृत साइन्स क्याम्पसमा आइएस्सी भर्ना हुनेक्रममा नै अनेरास्ववियुको आन्दोलनमा लागेको मानिस हुँ । त्यो बेलादेखि निरन्तर रुपमा अनेरास्ववियुको आन्दोलनमा क्रियाशील भएर लागिरहेको छु । केन्द्रिय कमिटीमा तल केही ठोस जिम्मेवारी त पाइन तर आन्दोलनबाट आफूलाई एक दिन पनि विमुख गराइन । निरन्तर रुपमा आन्दोलनमा लागि रहेँ ।

अब विद्यार्थी आन्दोलनको स्वरुप परिवर्तन गर्नु जरुरी छ । पहिले सानो कुरा हुने बित्तिकै सडकमा गइहाल्ने, ढुंगामुडा गरिहाल्ने, बन्द हड्ताल गरिहाल्ने काम थिए । तर अब रचनात्मक र सिर्जनात्मकतातिर हामी जानुपर्छ ।

त्यसपछि ६५ सालमा अनेरास्ववियुको १९ औँ राष्ट्रिय सम्मेलन बाट केन्द्रिय कमिटीमा प्रवेश गरेको हुँ । जनकपुरमा भएको २० औँ राष्ट्रिय सम्मेलनबाट सचिवालय सदस्य भएँ । यस्तै काठमाडौँमा भएको सम्मेलनमा केन्द्रिय कमिटीको उपाध्यक्षमा सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएँ । त्यसपछि म अध्यक्षको प्रत्यासी थिएँ । विभिन्न राजनीति घटनाले गर्दा अध्यक्षको उम्मेदवार हुन सकिएन । ७२ सालमा म महासचिवको उम्मेदवार भएँ । अहिले महासचिवको रुपमा यो कार्यकाल पनि पूरा गरिसकेको छु । यसरी जिम्मेवारी पूरा गर्दैगर्दा ऐन महरको परिचय देशलाई माया गर्ने , संगठनलाई माया गर्ने, सम्पूर्ण रुपमा देश र जनताप्रति समर्पित एउटा इमान्दार कार्यकर्ता हो ।

अबका दिनमा विद्यार्थी आन्दोलनका मुख्य एजेण्डा के हुनुपर्छ ?

विद्यार्थी आन्दोलनमा अब दुई वटा कुरालाई ध्यान दिनु पर्छ । पहिलो कुरा भनेको त एजेण्डा परिवर्तन नै गर्नुपर्छ । एजेण्डा बिना विद्यार्थी आन्दोलन चल्न सक्दैन । विगतका एजेण्डालाई थाती राखेर अब नयाँ एजेण्डाहरु अगाडी सार्नुपर्छ । मुलतः विद्यार्थी आन्दोलन विद्यार्थीको भएकाले शैक्षिक क्षेत्रका एजेण्डा र विद्यार्थीका हक र हितका लागि आवश्यक एजेण्डा यसले बोक्नुपर्छ । शैक्षिक पुर्नसंरचनाका कुराहरु, शैक्षिक गुणस्तरका कुराहरु, शिक्षा नीति परिवर्तनका कुराहरु, शिक्षाको सर्वशुलभताका कुराहरु, शैक्षिक विभेदको अन्त्यका कुराहरु हामीले उठाउनु पर्छ । यिनैलाई विद्यार्थी संगठनले मूल मुद्दा बनाउनुपर्छ ।

अर्को कुरा विद्यार्थी आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्छ । पहिले सानो कुरा हुने बित्तिकै सडकमा गइहाल्ने, ढुंगामुडा गरिहाल्ने, बन्द हड्ताल गरिहाल्ने काम थिए । तर अब रचनात्मक र सिर्जनात्मकतातिर हामी जानुपर्छ । किन भन्दा त्यतीखेर त्यो जरुरी थियो । फेरि त्यो गलत पनि थिएन । तर अहिले राजनीतिक परिवर्तन भएको । देशमा गणतन्त्र आएर जनताका प्रतिनिधिले देश चलाइरहेका छन् । केही कुरा मन नपरेमा आज हामी सजिलै बालुवाटारमा गएर आफ्नो प्रधानमन्त्री समक्ष राख्न पाउँछौँ । अर्को कुरा भनेको अब हामीले आर्थिक क्रान्तिका मुद्दाहरुलाई उठान गर्नुपर्छ । अर्कोतिर सामाजिक सांस्कृतिक संस्कारहरु पनि छन् । अहिले पनि बोक्सीको आरोपमा महिला कुटिन्छन् । छाउपडीका नाममा घरभित्र पस्न दिइँदैन । यस्ता विविध कुपरम्पराको अन्त्यका लागि पहल गर्नपर्छ ।

मुख्य कुरा आर्थिक समृद्धिमा हामी जानुपर्छ । रोजगार सिर्जनाका कुराहरुमा हामी लाग्नुपर्छ । युवाहरुलाई स्वदेशमा नै बस्ने वातावरण निर्माण गर्नुपर्छ । यिनै कुराहरुलाई अब विद्यार्थी संगठनले आफ्ना मुद्दाहरु बनाउनुपर्छ ।

पार्टी एकिकरणसंगै विद्यार्थि संगठन पनि एककिरण हुने संघारमा छ होला । अखिल क्रान्तिकारीसंगको एकताको ‘मोडालिटी’ कसरी बन्दैछ ? एजेण्डागत रुपमा कसरी सहमती हुँदैछ ?

एजेण्डामा त त्यती फरक छैन । ऐजेण्डा उनीहरुका र हाम्रा एउटै हुन् । मूल कुरा सांगठनिक एकरुपता कसरी कायम गर्ने ? भन्नु कुरा हो । यसका सन्दर्भमा के छ भने अहिले पार्टी जुन संगठनिक कार्यदल बनाएको छ । रामबहादुर थापा बादल र इश्वर पोखरेलको नेतृत्वमा बनेको १० सदस्यीय कार्यदलले ‘होमवर्क’ गरिराखेको छ । त्यसले एउटा नीतिगत खाका प्रस्तुत गर्छ । त्यही खाकाभित्र रहेर हामीले एकता गर्ने हो । अब नेतृत्वका विषयमा पार्टीले नै तय गर्छ । हाम्रो विश्वास के हो भने अहिलेको अनेरास्ववियुको नेतृत्वले नै त्यतीखेर एकिकृत विद्यार्थी संगठनको नेतृत्व गर्छ र गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।

नेतृत्वको विभाजन कसरी हुन्छ ? यसको गणितीय हिसाब कसरी मिलाउनुहुन्छ ?

अब यसमा स्वभविक रुपमा एमाले त ठूलो पार्टी हुँदै हो । अहिले मत पनि ७०–३० को रेसियोमा छ । अब अनेरास्वियुको कुरा गर्दा ६५ सालमा एमाले तेस्रो हुँदा पनि अनेरास्ववियु पहिलो भएको थियो । ३६ सालदेखि हामी निरन्तर पहिलो स्थानमा आइराख्यौँ । विद्यार्थीका बीचमा अनेरास्ववियु जहिलेपनि पहिलो र शसक्त छ । त्यसकारण अनेरास्ववियुको नेतृत्वको सन्दर्भमा पार्टी पनि सचेत छ । पछि जे गरेपनि सुरुमा त एमालेबाट कती र माओवादीबाट कती भनेर मिलाउनु पर्छ । त्यसको विधि भनेको रेसियो नै हुन्छ होला । ६०–४० हुन्छ वा ७०–३० हुन्छ । त्यो पछि थाहा होला । यही अनुसार नै एकता हुन्छ ।

अन्त्यमा, अखिलको नेतृत्वका म तयार छु भन्नका लागि के भन्नु हुन्छ ?

अब हामी छलपलमा छौँ । यसमा म आफैले भनिरहनुपर्छ जस्तो लाग्दैन । आफैपनि एक प्रकारले स्थापित विषय भएको छ । २२ औँ महाधिवेशनमा अध्यक्षको सशक्त प्रत्यासी थिएँ । पछि विविध कारणले म महासचिव भएर बस्नुपर्यो । त्यतीबेला नै आम मानिसको बुझाई २३ औँ महाधिवेशनको नेतृत्व ऐन महरले गर्छ भन्ने थियो । त्यस कारण बन्ने नबने कुरा भन्दा पनि हामीले स्वस्थ प्रतिस्पर्धा गर्नुपर्छ, बहस स्वस्थ ढंगले सञ्चालन गर्नुपर्छ । नेतृत्वको आकांक्षी धेरै साथीहरु छन् । त्यसमा कुनै दुई मत छैन । तर नेतृत्व गर्ने त एक जना हो । त्यसैले मेरो अनुरोध के हो भने अस्वस्थ प्रतिस्पर्धा नभई सहमतीका आधारमा नेतृत्व चयन गर्नुपर्छ ।

तपाई अखिलको अध्यक्षको उम्मेदवार हुँदैगर्दा तपाईको प्रमुख एजेण्डा के हुन्छ ?

मैले अघि नै भनेँ मेरो दुईवटा एजेण्डा छ । एउटा शैक्षिक एजेण्डा । दोस्रो कुरा भनेको यी एजेण्डलाई उठाउनका लागि एउटा बृहत, सशक्त संगठन चाहिन्छ । अहिले हाम्रो संगठनम केही खिया लागेको छ । सुदृढ सशक्त र बृहत संगठन निर्माण गर्नका लागि म काम गर्छु । आम विद्यार्थीहरुलाई राजनीति र अनेरास्ववियुप्रति आकर्षण बढाउने काम रचनात्मक रुपमा म गर्छु । अर्को अनेरास्ववियुमा लागेका मानिसलाई आर्थिक पारदर्शी बनाउने कुरा, संस्कार दिने कुरा, लोकतन्त्रप्रति प्रतिवद्ध बनाउने कुरामा म महत्वपूर्ण भूमिका निर्वाह गर्न चाहान्छु ।

सरकारी शिक्षा तबसम्म सुध्रिदैन जबसम्म सरकारी कर्मचारीहरु र राज्यको राजकीय निकायमा रहेका नेताहरुका छोराछोरी अनिवार्य रुपमा सरकारी स्कुलमा पढ्दैनन् ।

अब हामीले नगरी नहुने काम भनेको शैक्षिक गुणस्तरको वृद्धि हो। त्यो स्कुल तहदेखि नै सुरुवात गर्नुपर्छ । सरकारी कर्मचारीहरु, राज्यको राजकीय तहमा रहेका नेताहरु सबैका छोरा छोरीलाई अनिवार्य रुपमा सरकारी स्कुलमा ल्याउने वातावरण निर्माणका लागि हामीले पहल गर्ने हो । जब उसको छोराछोरी त्यहा हुँदैनन् तब ती वर्गहरु सार्वजनिक विद्यालयप्रति उत्तरदायी हुँदैनन् । आफ्ना छोराछोरी त्यहाँ भएमा उसले पनि जिम्मेवार भएर काम गर्छ । त्यसका लागि शैक्षिक गुणस्तर विकास गर्नुपर्छ । यिनै मुद्दाहरु हामीले उठाउने हो ।