काठमाडौं–‘तपाईंले रु २५ लाख पुरस्कार जित्नुभएको छ, त्यसको करबापतको रु ३० हजार पठाइदिनुस्’ भन्दै ठगी गर्ने सप्तरीका एक व्यक्ति पक्राउ परेका छन् । राजविराज–१२ का १९ वर्षीय महेशकुमार मण्डललाई प्रहरीले शनिबार पक्राउ गरेको हो । पुरस्कार पाउने व्यक्तिले पठाएको रु ३० हजार राजविराजको जनमुखी बहुउद्देश्यीय सहकारी संस्थाबाट झिकिरहेकै अवस्थामा उनलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


गत चैत १ गते पाँचथरको फिदिम बजार बस्ने अनुशा अधिकारीलाई थाहा नपाएको नम्बरबाट ‘तपाईंले २५ लाख पुरस्कार जित्नु भएको छ, त्यसको लागि आजै ४ बजेभित्र करबापतको ३० हजार बुझाउनु होला, नभए पैसा फ्रिज हुन्छ’ भन्ने जानकारी दिएपछि अधिकारीले रकम आइएमईमार्फत पठाइदिएका थिइन् ।


ADVERTISEMENT

# # #


शुरुमा अधिकारीले रोमन प्रजापतिको नाममा काठमाडौं पैसा पठाइन् । काठमाडौंमा रकम निकाल्न नमिलेको भन्दै पुनः राजविराजमा पठाइदिन भनेपछि अधिकारीले उक्त रकम पुनः राजविराजस्थित जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा पठाइन् । उक्त रकम लिन आएकै समयमा महेशलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अधिकारीले जिल्ला प्रहरी कार्यालय पाँचथरमा निवेदन लेखी पेश गरेको हुँदा निवेदनको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । प्रहरीले नगद रु ७० हजार र मोबाइसहित ठगीमा संलग्न पक्राउ परेको जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि पाँचथर पठाइएको छ ।

यसैबीच, शुक्रबार राजविराजबाट चोरिएको मोटरसाइकलसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले विष्णुपुर गाउँपालिका–४ बस्ने २० वर्षीय प्रमेश्वर यादवलाई नियन्त्रणमा लिएको हो । राजविराज नगरपालिका–७ स्थित रगंशाला बाहिर सुरुङ्गा नगरपालिका–७ बस्ने सुधीर चौधरीले आफ्नो स १ प ७४३३ नम्बरको मोटरसाइकल पार्कि गरेका थिए । तर उनको मोटरसाइकल चोरी भयो ।

चौधरीले मोटरसाइकल चोरी भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जानकारी गराए लगत्तै प्रहरीले खोजतलास शुरु गरेको थियो । खोजतलासको क्रममा राजविराज–६ स्थित राजविराज–सखडा सडक खण्डको मुसहरी टोलमा मोटरसाइकल डोहोर्याउँदै गर्दा यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।