काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानै शैली र गतिमा काम गरेर नयाँ नेपाल बनाउन नसकिने बताउँदै सरकारले नयाँ योजना र ढङ्गले काम गर्ने बताएका छन् । नेपाल निजामती कर्मचारी सङ्गठनको बधाई ग्रहणपछि शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले बताएका हुन् । “पुरानो शैली र ढाँचाले देशको विकास अब सम्भव छैन,” उनले भने, “देशको विकासमा अब कुनै बहाना गरेर ढिलाइ गर्न सकिँदैन । ”


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले उपयोगको सिद्धान्तअनुसार सबैलाई काम गर्न आग्रह गरेका छन् । “गमला उपयोग गरेर साग उत्पादन गरेर छाक टार्नुहोस्,” उनले थपे, “तपाईंका लागि गरिएको यो सानो कामले देशको अर्थतन्त्रलाई नै टेवा पु¥याउनेछ । ”


ADVERTISEMENT

# # #


कर्मचारीको पेसागत मर्यादा र सुरक्षामा सरकार गम्भीर रहेको प्रधानमन्त्री ओलीले त्यस अवसरमा विश्वास दिलाएका थिए । सरकारले खटाएको ठाउँमा कर्मचारीले काम गर्न अन्कनाउनु हुँदैन भन्दै प्रधानमन्त्री ओलीले सरकारले खटाएको ठाउँमा कर्मचारी इमानदारीपूर्वक जानुपर्ने बताएका छन् ।

अघिल्लो सरकारले जस्तो अनुभवी कर्मचारीलाई ‘गोल्डेन ह्यान्डसेक’सहित घर पठाउने पक्षमा वर्तमान सरकार नरहेको उनले प्रस्ट पारेका छन् । “वर्तमान सरकार अनुभवी कर्मचारीलाई घर पठाएर नयाँ कर्मचारी नियुक्त गर्ने पक्षमा छैन,” उनले बताए ।

कर्मचारीको वृत्ति विकासका लागि पनि सेवा प्रवेश गर्दाको सर्त लागू हुने प्रधानमन्त्री ओलीले बताएका छन् । “नगरपालिकामा सरुवा हुँदा बढुवा नहुने, प्रदेशमा सरुवा हुँदा फेरि सङ्घमा आउन नपाइने भन्ने हुँदैन,” प्रधानमन्त्री ओलीले भने ।

कर्मचारी स्थायी सरकार भएकाले कर्मचारीको सहयोगबिना सरकार सफल हुन नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले सरकारको अभियानमा कर्मचारीलाई दत्तचित्त भएर सघाउन आग्रह गरेका छन् । त्यस अवसरमा प्रधानमन्त्री ओलीले कर्मचारीलाई विकासमुखी, जनमुखी, सेवामुखी र सुशासनमुखी भएर काम गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीलाई बालुवाटार भेट्न सङ्गठनका अध्यक्ष केदारप्रसाद देवकोटाको नेतृत्वमा कर्मचारी बालुवाटार पुगेका थिए ।