काठमाडौं – फागुन २८ गते त्रिभुवन विमानस्थलमा भएको युएस बंगला एअरलाइन्सको विमान दुर्घटनाप्रति प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गरेको छ ।


ADVERTISEMENT


शुक्रबार बसेको बैठकले दुर्घटनाप्रति गहिरो दुख प्रकट गर्नुका साथै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । संसद बैठकमा दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्मानमा एक मिनेट मौनधारण पनि गरिएको छ ।


ADVERTISEMENT

# # #


फागुन २८ गते भएको विमान दुर्घटनामा ज्यान गुमाएका ४९ जनामध्ये २२ जना नेपाली, २६ जना बंगलादेशी र १ जना चिनियाँ नागरिक रहेका छन् ।

घाइतेमध्ये १७ जना काठमाडौंको विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् भने ३ जना डिस्चार्ज भएर घर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जानकारी गराएका छन् ।

विमानमा चालक दलका ४ जनासहित ७१ जना रहेकोमा ३३ जना नेपाली, चालक दलका सदस्यसहित ३६ जना बंगदलादेशी, १ जना चिनियाँ र १ जना माल्दिभ्सका नागरिक थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भविष्यमा यस्ता अप्रिय घटना हुन नदिन सरकार सचेत रहने बताएका छन् । उनले विमान दुर्घटनाको कारण पत्ता लगाउन छानबिन आयोग गठन भएको र आयोगको सुझाव अनुसार भविष्यमा यस्ता दुर्घटना नहोस् भनेर सचेतता अपनाउने पनि बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा संबोधन गर्दै प्रधानमन्त्री ओलीले यस घटनालाई नेपाल सरकारले अत्यन्तै दुखद र गम्भीर घटनाको रुपमा लिएको पनि बताएका छन् ।

सरकारले घटनाबारे जाँचबुझ गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरेको छ । प्रधानमन्त्री ओलीले आयोगले काम सुरु गरिसकेको र प्रतिवेदन बुझाएपछि सुझाव कार्यान्वयन गर्ने बताएका छन् ।