काठमाडौं–प्रधानन्यायाधीश गोपाल पराजुलीको अवकाश भइसकेको तर्क गर्दै सोमबार बृहत् पूर्ण इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबरा मंगलबार सर्वोच्चमै उपस्थित थिए । तर, उनको इजलास तोकिएको थिएन । इजलास तोकिएका सातसहित जम्मा आठ न्यायाधीशले मंगलबार आफ्नो अनुपस्थिति जनाए ।


ADVERTISEMENT


वरिष्ठतममध्येका न्यायाधीश दीपकराज जोशी बिदामा भएपछि मंगलबार संयुक्त इजलास पनि प्रभावित भयो भने न्यायाधीश चोलेन्द्र दिनभर सर्वोच्चको कार्यकक्षमा बसेर अपराह्न बाहिरिए । उनले प्रधानन्यायाधीश पराजुलीलाई भेटेनन् ।


ADVERTISEMENT

# # #


प्रधानन्यायाधीश पराजुलीको बृहत् पूर्ण इजलासमा सोमबार कान्तिपुर दैनिक र डा. गोविन्द केसीविरुद्ध परेको अवहेलना मुद्दाको सुनुवाइ हुँदै थियो । तर, न्यायाधीश राणाले २१ साउनमै प्रधानन्यायाधीश पराजुलीको अवकाश भएको भन्दै प्रधानन्यायाधीशको इजलासमा बस्न अस्वीकार गरे । त्यसपछि मुद्दा स्थगित भएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूसहित १० वटा इजलास तोके, तर आठजना न्यायाधीशको इजलास बस्न सकेन । जसका कारण चारवटा इजलास प्रभावित बन्यो । न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमानसिंह राउत, सपना मल्ल प्रधान, आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा इजलासमा अनुपस्थित भए ।

वरिष्ठतम न्यायाधीश दीपकराज जोशी बिदामा बसेका कारण प्रकाशमानसिंह राउतको बेन्च बस्न सकेन । प्रधानन्यायाधीश गोपाल पराजुली र तेजबहादुर केसीको संयुक्त इजलासले भने जग्गा विवाद र नागरिकता सम्बन्धी पेसीमा फैसला गरेको थियो । उनीहरूको इजलासले ३७ वटा मुद्दाको आदेश र एउटा मुद्दाको फैसला गरेको छ ।

मंगलबारको इजलासमा २ सय ७७ मुद्दाको पेसी तोकिएकोमा ५३ वटा फैसला, २० वटा मुद्दामा आदेश, ३५ वटा मुद्दामा स्थगित, सातवटा हेर्न नमिल्ने, ४७ वटा मुद्दा हेर्न नभ्याउने सूचीमा रहेको सर्वोच्च अदालतले जनाएको छ । इजलास नम्बर १ मा वरिष्ठतम न्यायाधीश दीपकराज जोशी र प्रकाशमानसिंह राउतको इजलास तोकिएको थियो ।

न्यायाधीश जोशी बिदामा भएका कारण प्रकाशमानसिंह राउत इजलास बसेनन् । चारवटा बेन्च नबस्दा ११० वटा पेसी प्रभावित बन्यो । इजलास नं. ८ मा न्यायाधीश हरिकृष्ण कार्की र सपना मल्ल प्रधानको संयुक्त इजलास तोकिएको थियो । इजलास नं. ९ मा विश्वम्भरप्रसाद श्रेष्ठ र अनिलकुमार सिन्हाको संयुक्त इजलासमा ३८ वटा मुद्दाको पेसी तोकिएको थियो । इजलास नं. १० मा ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासमा ३१ वटा मुद्दाको पेसी तोकिएको थियो ।

बेन्च नबस्दा १ सय १० वटा मुद्दाको पेसी प्रभावित हुन पुगेको छ । न्यायाधीशहरू ओमप्रकाश मिश्र, डम्बरबहादुर शाही, दीपककुमार कार्की, टंक मोक्तान, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, बमकुमार श्रेष्ठ इजलासमा उपस्थित भए ।–आजको नयाँ पत्रिकाबाट