काठमाडौँ – राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र काठमाडौं अदालतबाट रु ३ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
काठमाडौं अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले तीनकुने घटनाका आरोपी मिश्रलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी रिहा भएका हुन् । मिश्र मंगलबार नै बयानका लागि अदालत हाजिर भएका थिए ।
धरौटीमा रिहा भएपछि मिश्रले राज्यले अन्याय गरेपनि अदालतले न्याय दिएको प्रतिक्रिया दिए । उनले भने, ‘राज्यले अन्याय गर्दाखेरि पनि अदालतले न्याय दिन एकदम सक्षम रहेछ, अदालतले आफ्नो विवेक प्रयोग गर्ने ठाउँमा विवेक प्रयोग गर्दोरहेछ भन्ने कुराले नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास जगाइदिएको छ ।’
राज्यले आफूहरुलाई दोषी करार गर्न विभिन्न आरोप लगाउनु दुखद रहेको उनले बताए ।
मिश्रमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्र, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता भएको थियो । गत चैत १५ गते काठमाडौंको तीनकुने घटनाका आरोपी राप्रपा महामन्त्री शवलशमशेर राणा पनि सोमबार ३ लाख धरौटीमा रिहा भएका थिए ।
सोही घटनामा संलग्न दुर्गा प्रसाईं भने पुर्पक्षका लागि कारागार चलान भएका छन् ।