काठमाडौँ – त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाअन्तर्गत दोस्रो नेपालले खेलमा घरेलु टोली स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको छ ।


ADVERTISEMENT


स्कटल्यान्डको ग्लास्गोस्थित टिटउट मैदानमामा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनायो । ९८ रनको सामान्य लक्ष्य पाए पनि नेपालले जित निकाल्न निकै संघर्ष गर्नुपर्यो । नेपालले उक्त लक्ष्य १९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो ।


ADVERTISEMENT

# # #


नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए । त्यसक्रममा उनले ३५ बलमा ४ चौका प्रहार गरे । यस्तै दीपेन्द्रसिंह ऐरीले १४ तथा बसिर अहमदले १३ रन जोडे भने किरण ठगुन्न १० रनमा आउट भए ।

स्कटल्याण्डका लागि माइकल लिस्क र सफयान सरिफले समान २–२ विकेट लिए भने ब्राण्डन म्याक्मुलन, मार्क वाट, ज्याक जार्भिस र जास्पर डेभिड्सनले समान १–१ विकेट हात पारे ।

यसअघि ब्याटिङतर्फ स्कटल्यान्डका लागि माइकल लिस्कले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ४६ बल खेल्ने क्रममा चार चौका र एक छक्का हाने । त्यसैगरी कप्तान म्याथ्यु क्रसले १५ र ब्रेन्डन म्याकमुलनले १० रन बनाए ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले चार, करण केसी र दीपेन्द्रसिंह ऐरीले दुई–दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए । केसीले यही खेलमार्फत टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गरे । करण सो उपलब्धि हासिल गर्ने नेपालको दोस्रो बलर हुन् । यसअघि सन्दीप लामिछानेले टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा नेपालबाट १०० विकेट लिएका थिए ।

यसअघि पहिलो खेलमा सोमबार नेदरल्याण्ड्ससँग स्कोर बराबरी भएपछि तेस्रो सुपर ओभरमा पराजित भएको नेपालले सिरिजको तेस्रो खेलमा बिहीबार नेदरल्याण्ड्सको सामना गर्नेछ ।