काठमाडौँ – उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
सोमबार न्यायाधीश ऋषिराज भण्डारीको इजलासले पाठकलाईलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
‘निवेदकको गम्भीरतालाई विचार गरी निवेदक दिलभूषण पाठकलाई कानुन बमोजिम बाहेक धरपकड नगर्नू, नगराउनू भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) क बमोजिम विपक्षीहरूका नाउमा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ। अदालतले पाठकको निवेदन बमोजिम आदेश किन जारी हुनुनपर्ने भनेर लिखित जवाफ समेत माग गरेको छ।
यसअघि पाठकले आफूमाथि जारी भएको पक्राउ पुर्जीविरूद्ध पाठक आइतबार उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए। यस्तै उच्च अदालतले दुबै पक्षलाई अन्तरिम आदेश जारी गर्ने–नगर्ने विषयमा छलफलका लागि असार ५ गते बोलाएको छ।
पाठकले काठमाडौँको पाँच तारे होटेल हिल्टनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका छोरा जयवीर देउवाले लगानी गरेको भन्दै एक महिना अघि भिडियो बनाएका थिए ।
उक्त भिडियोको विरोधमा जयवीरले पाठकविरुद्ध प्रहरीमा जायरी दिएका थिए । सोही अनुसार उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
उनाीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि मिडियामाथि आक्रमण गर्न खोजिएको भन्दै चौतर्फी विरोध भएको थियो ।