काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरल र प्रभावकारी सेवाप्रवाहबाट कर्मचारीतन्त्रले नागरिकको मन जितेमात्र लोकतन्त्र दरिलो हुने बताएका छन् ।
लोक सेवा आयोगको ७५औं वार्षिकोत्सव एवम् हीरक जयन्ती समारोहलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मनसमेत जित्न सकेमात्र लोकतन्त्र दरिलो हुने वास्तविकतालाई मनन गरेर राष्ट्रसेवकहरूले भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।
उनँले स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्रले आधुनिक विधि, प्रविधि र दक्ष जनशक्तिको प्रयोग गरी सुशासनको मर्म र भावना अनुरुप काम गर्नुपर्नेमा जोड दिए ।
संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमा जनताको चाहना र आकांक्षलाई सम्बोधन गर्दै तिव्र आर्थिक विकासलाई अगाडि बढाउन सकिने उनले बताए ।
राष्ट्रपति पौडेलले नेपालमा निजामती सेवामा समावेशी पदपूर्तिको व्यवस्था भएपछि त्यसअनुसार उम्मेदवार सिफारिस गर्न सफल हुनु आयोगको सकारात्मक पक्ष रहेको बताए । उनले कर्मचारी छनौट, बढुवा र परामर्शका क्षेत्रमा समयसापेक्ष सुधार गरी प्रभावकारी ढंगले अघि बढ्न जरुरी रहेको बताए ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोक सेवा आयोगको जनविश्वास प्रबल रहेको धारणा राखे । प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी निजामति, सुरक्षा निकायलगायत संगठित संस्थामा पदपूर्तिका लागि आयोगले दिएको योगदानको प्रशंसा गरे ।
आयोगलाई थप साधनस्रोतसम्पन्न र प्रविधिमैत्री बनाउन तथा आयोगका वार्षिक प्रतिवेदनमा दिइने सुझावको कार्यान्वयनका लागि सम्बन्धित निकायले ध्यान उचित दिनुपर्ने भन्दै उनले सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरणका लागि तत्पर रहने बताए ।
प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी युवा पुस्तामा समेत विश्वासको वातावरण सृजना गरी राष्ट्रसेवामा सबैलाई प्रेरित गर्न आयोगले निरन्तर भूमिका खेल्ने विश्वास पनि व्यक्त गरे । कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।