काठमाडौँ -नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्र बानियाँले सामाजिक सञ्जाल र मिडिया मार्फत भ्रम फैलाउनेहरूमाथि राज्यले कठोर कदम चाल्नुपर्ने बताएका छन्।


ADVERTISEMENT


कैलाश गाउँपालिकालाई ‘पूर्णखोप पालिका’ घोषणा गर्ने विशेष कार्यक्रममा बोल्दै उनले यस्तो यस्तो अभिव्यक्ति दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनले लोकतान्त्रिक व्यवस्थासँगै स्वास्थ्य क्षेत्रमा आएको सुधारबारे उल्लेख गर्दै भने, “पहिले खोपको अवस्था कमजोर थियो, अहिले अत्याधुनिक प्रविधिमार्फत सुरक्षित तरिकाले खोप वितरण भइरहेको छ। गाउँ–गाउँमा स्वास्थ्य चौकी, पक्की सडक र स्थानीय सरकारी संरचना निर्माण भएका छन्, जुन संघीय व्यवस्थाले सम्भव गराएको हो।”

तर, यति ठूलो विकास र परिवर्तनका बीच केही व्यक्ति र सञ्चारकर्मीहरू सामाजिक सञ्जाल तथा युट्युबमार्फत आधारहीन र नकरात्मक सामग्री फैलाउँदै हिँडेकोमा उनले गम्भीर आपत्ति जनाए।

“नामी भनिएका सञ्चारकर्मीहरू पनि गलत बाटोमा लागेको देखिन्छ। यसरी भ्रम फैलाउँदै जाँदा भोलिका दिनमा मिडियाप्रति जनविश्वास हराउने खतरा बढेको छ,” बानियाँले भने।

उनले जोड दिँदै भने, “सञ्चारकर्मीहरूले सत्य, तथ्य र खोजमूलक समाचार लेख्नुपर्छ। भ्रम सिर्जना गर्ने जो–कोही क्षम्य हुनु हुँदैन। यस्तो अवस्थामा राज्य कठोर हुन्छ र हुनै पर्छ।”

सभापति बानियाँले गणतन्त्र, संघीयता र लोकतन्त्रले देशको स्वरूप र जनताको जीवनस्तरमा ल्याएको परिवर्तनको चर्चा गर्दै भने, “आज गरिबको छोरा तनहुँबाट राष्ट्रपति बनेका छन्, ताप्लेजुङबाट आएका जनताको छोरा प्रधानमन्त्री भएका छन्। यो गणतन्त्रकै उपलव्धि हो। यसैले हामी देश र जनताप्रति निष्ठावान् भएर अघि बढ्नुपर्छ।”

कार्यक्रममा विभिन्न जनप्रतिनिधि, स्वास्थ्यकर्मी, नागरिक समाजका प्रतिनिधि, स्थानीय बासिन्दा लगायतको उपस्थिति रहेको थियो।
सभापति बानियाँले लोकतान्त्रिक मूल्यको संरक्षण, जनउत्तरदायी शासन र विश्वसनीय मिडियाको भूमिकालाई बलियो बनाउन सबैलाई सचेत रहन आग्रह गरे।