काठमाडौं — नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्र बानियाँले जयवीर देउवासम्बन्धी सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत बिना प्रमाण र आधारमा गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।


ADVERTISEMENT


हिमालय पोष्टसँगको वार्तालापमा बानियाँले सामाजिक सञ्जाल र केही सञ्चार माध्यमले तथ्यबिना आरोप लगाएर राजनीतिक पात्रको चरित्र हत्या गर्ने तथा आम नागरिकमा भ्रम सिर्जना गर्ने कार्य गरेको जनाउदैँ भने, ‘जयवीरमाथि आधारहीन रूपमा जुन किसिमले प्रचारप्रसार भएको छ, त्यो आफैँमा निन्दनीय छ ।’


ADVERTISEMENT

# # #


पत्रकारिता क्षेत्रमा पहिचान बनाएका दिलभुषणजस्ता व्यक्तिले समेत सत्य नबुझी भ्रामक प्रचार गर्न आफैँमा चिन्ताको विषय रहेको उनको भनाई छ । ‘‘राम्रा सञ्चारकर्मी भनिएका दिलभूषणले जयवीर देउवासम्बन्धि भ्रमपूर्ण कपोकल्पित, भ्रमक, तथ्यहिन, भ्रमपूर्ण समाचार सम्प्रेषण गरेपछि राज्यको चौथो अंगको नै बदनामी भएको छ’, उनले भने ।

बानियाँले यस्ता नकारात्मक भाष्य र सोचहरूले समाजमा भ्रम र मुठभेडको स्थिति सिर्जना गर्दै देशलाई अस्थिरताको दिशामा धकेलिरहेको आरोप लगाए।

‘गणतन्त्रको गलत व्याख्या हुँदैछ’

बानियाँले गणतन्त्र, संघीयता र समावेशी लोकतन्त्रको मर्मविपरीत स्वतन्त्रताको नाममा गलत व्याख्या भएको तर्फ गम्भीर आपत्ति जनाएका छन्।

“गणतन्त्र भनेको स्वतन्त्रता हो,” बानियाँले भने, “तर स्वतन्त्रताको नाममा छाडातन्त्र बढ्न थाल्यो भने यो व्यवस्थाको गलत व्याख्या हुन्छ। त्यसलाई कानुनको दायरामा ल्याउनु पर्छ ।”

गणतन्त्रमा हरेक किसिमका स्वतन्त्रताभित्र मिडियाले पनि स्वतन्त्र रुपमा समाचार सम्प्रेषण गर्न सक्ने बताउदैँ उनले भने, ‘अरुको इज्जत झार्न गणतन्त्र आएको होइन । आफ्नो स्वतन्त्रता प्रयोग गर्दै गर्दा अरुको स्वतन्त्रता, आत्मसम्मान तथा प्रतिष्ठालाई चोट पुर्‍याउने किसिमको छाडा र भ्रमपूर्ण कार्य नगर्ने  र गर्नेलाई कानुनको दायरामा ल्याएर यथाशिघ्र कारवाही हुनुपर्छ ।’

उनले गणतन्त्र, संघीयता र समावेशी लोकतान्त्रिक व्यवस्थाभित्र प्रतिस्पर्धा स्वाभाविक भएको उल्लेख गर्दै पत्रकारितालाई निष्पक्ष, पारदर्शी र जिम्मेवार ढंगले काम गर्न कसैले नरोकेको बताए। तर पत्रकारिता पनि दबाब, प्रभाव र पूर्वाग्रहमा कसैको चरित्र हत्या गर्न प्रयत्नशिल भयो भने त्यो दुर्भाग्य रहने उनको भनाइ छ। ‘त्यस्ता दुर्भाग्य पूर्ण कार्य गर्नेतर्फ राज्य कठोर हुनुपर्छ’, उनले भने ।

पछिल्लो समय सामाजिक सञ्जालमा कुनै प्रमाणबिना व्यक्तिको मानमर्दन गर्ने, नेताहरूको परिवारसँग असम्बन्धित विषयलाई जोडेर अनावश्यक विवाद सिर्जना गर्ने प्रवृत्ति बढेको भन्दै उनले चिन्ता व्यक्त गरे। ‘जसरी जयवीरमाथि तथ्यहिन, आधारहिन रुपमा भएको प्रचार आफैँमा निन्दनीय छ । यसबाट राजनीतिको पात्रको चरित्र हत्या गर्ने, आम नागरिकमा भ्रम सिर्जना गर्ने कार्य भएको छ’, उनले सुनाए ।

राजनीतिक क्षेत्रका गलत कार्य गर्नेहरु कानुनको दायरा आएको बताउदैँ बानियाँले भने, ‘राजनीतिक क्षेत्रका व्यक्तित्वलाई मात्रै कानुन लागू हुँदैन । गलत कार्य गर्ने जोकोहीलाई कारवाही हुन्छ ।’

गणतन्त्र, संघियता र जनताको व्यवस्था ल्याउनका लागि पत्रकारिताको ठूलो योगदान रहेको स्मरण गराउदैँ उनले त्यस विपरित अमर्यादित कार्य नगर्नका लागि आग्रह गरे । ‘पत्रकारिता भनेको स्वतन्त्र, निष्पक्ष, पारदर्शी, खोजपूर्ण तथ्य र प्रमाणमा आधारित मात्रै समाचार सम्प्रेषण गर्नका लागि हो’, बानियाँले भने, ‘सम्पूर्ण सञ्चार जगतका पत्रकारहरुमा अनुरोध समेत गर्न चाहान्छु।’

सामाजिक सञ्जाल र डिजिटल माध्यमहरूमा नियमन र निगरानीको अभावले यस्ता विकृति मौलाएको बानियाँको टिप्पणी छ । यस्ता विकृति नियमनका लागि प्रेस काउन्सिल नेपाल, गृह मन्त्रालय तथा सूचना तथा सञ्चार मन्त्रालयजस्ता सम्बन्धित निकायले अनधिकृत अनलाइन पोर्टल, फेक खाता र नियमनविहिन डिजिटल सामग्रीमाथि कडाइ गर्नुपर्नेमा उनले जोड दिए ।