काठमाडौँ – नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा लगाउनु राजनीतिक प्रतिशोध र षड्यन्त्र भएको निष्कर्ष निकालेको छ ।


ADVERTISEMENT


पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियारले अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेपछि बसेको पार्टीको अनौपचारिक बैठकले उक्त निष्कर्ष निकालेको हो । बैठकपछि बोल्दै पार्टी उपाध्यक्ष तथा प्रवक्ता प्रकाश ज्वालाले अध्यक्ष नेपालमाथि राजनीतिक प्रतिशोध साँधिएको र षड्यन्त्रमूलक ढंगले मुद्दा दायर गरिएको जिकिर गरे ।


ADVERTISEMENT

# # #


‘अध्यक्षमाथि मुद्दा लगाउनु राजनीतिक प्रतिशोध लिँदै षडयन्त्रमूलक प्रहार भएको निष्कर्ष छ,’ उपाध्यक्ष प्रकाश ज्वालाले भने, ‘हामी यसलाई राजनीतिक रुपमा प्रतिवाद गर्छौं ।’

उनले थपे, ‘सरकारको छाया अख्तियारमा परेको हुनाले यसमा राजनीतिक प्रतिशोध र षड्यन्त्र छ ।’

यस्तै उनले अध्यक्ष नेपालले कुनै गलत काम नगरेको दाबी गर्दै मुद्दाबाट नभाग्ने जनाए । ‘हामी मुद्दाबाट भाग्दैनौँ । नडराउनु, नबिराउनु भनेजस्तै हाम्रो पार्टीको अध्यक्षले कुनै त्यस्तो भ्रष्टाचारजन्य, सार्वजनिक सम्पत्ति दुरुपयोग गर्ने र आर्थिक चलखेल गर्ने कुनै पनि काम गर्नुभएको छैन ।’ उनले भने, ‘आजसम्मको उहाँको व्यवहारले, उहाँको कार्यशैलीले, पटकपटक ओहोदामा पुग्दा पनि निष्कलंक व्यक्तिको रुपमा, स्वच्छ छवि लिएर उहाँ फर्किनुभएको छ ।’

यता अध्यक्ष नेपालले आफूमाथिको मुद्दा आफ्नो राजनीतिक करिअर सकाउन प्रधानमन्त्री केपी शर्माओलीको निर्देशनमा दायर गरिएको बताइरहेका छन् ।