काठमाडौँ– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू बर्षमा सम्पन्न हुने र दायित्व सिर्जना भएका योजनाहरुलाई कटौती नगरिएको बताएका छन् ।
नेपाल पूर्वाधार पत्रकार समाजले बुधबार ललितपुरमा आयोजना गरेको बजेटमा पूर्वाधार क्षेत्र र कार्यान्वयन विषयक कार्यक्रममा पौडेलले केहि हजार साना आयोजनाहरु कटौतिमा परेपनि चालू बर्षमा सम्पन्न हुने र दायित्व सिर्जना भएका योजनाहरुलाई कटौती नगरिएको बताएका हुन् ।
उनले आयोजनाहरु अलपत्र हुने अवस्थालाई अन्त्य गर्दै कार्यान्वयनका लागि तीन करोडको सीमा राखिएको स्पष्ट पारे । बजेट अनुशासनका निम्ति तीन करोडको सीमा महत्वपूर्ण रहेको उनले जनाए । पौडेलले संवेदेनशील भूवनोट तथा सवारी चाप भएको स्थानमा दिगो पूर्वाधार निर्माणतर्फ काम अघि बढाउने जिकिर गरे ।
उनले सार्वजनिक खरिद नियामावलीमा भएको १४ औं संशोधनले केहि समस्या समाधान भएपछि पूर्ण नभएकाले निर्माण क्षेत्रमा देखिएका समस्याहरुलाई दिर्घकालीन समाधान गर्ने प्रतिवद्धता जनाए ।
उनले निर्माण समाग्रीको अभावका कारण आयोजना समयमा नै सम्पन्न नहुने अवस्था अन्त्य गर्न खानीजन्य र नदिजन्य सामाग्री उत्खनन, प्रशोधन र उपयोग गर्दै बाँकी रहे निर्यात गर्ने सरकारको नीति रहेको बताए ।