काठमाडौँ – राजसंस्थाको पुनःस्थापनाका पक्षमा जारी संयुक्त आन्दोलनलाई राजावादी समूहहरूले आज पनि निरन्तरता दिने भएका छन्। आजको मुख्य प्रदर्शन राजधानीको नारायणचौरबाट सुरु भई बालुवाटारसम्म पुर्‍याउने तयारी गरिएको छ। राप्रपा नेपालका एक पदाधिकारीका अनुसार नारायणचौरमा दिउँसो २ बजे भेला भई बालुवाटारतर्फ जुलुस प्रस्थान गरिनेछ।


ADVERTISEMENT


“नारायणचौर त केवल वार्मअप हो, हाम्रो मुख्य प्रदर्शन बालुवाटारमै हुनेछ,” उनले भने। बालुवाटार क्षेत्र भने सरकारी रूपमा निषेधित क्षेत्र घोषित भएकाले हिजोको जस्तै आज पनि त्यहाँ प्रदर्शन गर्न कानुनी रोक छ।


ADVERTISEMENT

# # #


राजावादी नेताहरूले सरकारले अनावश्यक रूपमा कडाइ गरे टकरावको अवस्था सिर्जना हुन सक्ने चेतावनी दिएका छन्। उनीहरूको भनाइ छ कि यदि शान्तिपूर्ण प्रदर्शनमा अवरोध गरियो भने त्यसको जिम्मेवारी सरकारले लिनुपर्नेछ।

यसैबीच, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बालुवाटारमा प्रदर्शन गर्न अनुमति नदिइएको स्पष्ट पारेका छन्। “हामीलाई आधिकारिकरूपमा जानकारी आएको छैन, तर बालुवाटार जान सक्ने चर्चा सुनेका छौँ,” उनले भने। नारायणचौरमा हुने प्रदर्शनलाई मूल्याङ्कन गरेर आवश्यक निर्णय लिइने तिवारीको भनाइ छ।

सुरक्षा निकायका स्रोतका अनुसार आजको प्रदर्शनमा प्रहरीले कडाइ गर्ने तयारी गरेको छ। विशेषगरी आज राष्ट्रपतिको सवारीसमेत रहेकाले सुरक्षा व्यवस्था थप कडा पारिएको छ। नारायणचौरमै प्रदर्शनलाई सीमित राख्ने वा बालुवाटार निषेधित क्षेत्रबाहिरसम्म अनुमति दिने भन्नेबारे अन्तिम निर्णय नभएको बताइएको छ ।