ललितपुर– ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् जोखिम न्यूनीकरणका लागि नगरका विभिन्न स्थानमा पूर्वाधार तयार भइरहेको बताएका छन् ।
आइतबार ललितपुरमा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम उद्घाटन गर्दै महर्जनले विपद् जोखिमका क्षेत्रमा काम गर्न पूर्वाधार आवश्यक रहेकाले विभिन्न चार स्थानमा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार तयार भइरहेको बताएका हुन् ।
उहाले विपद् जोखिमका क्षेत्रमा काम गर्न पूर्वाधार निर्मणका लागि यस वर्षमात्रै रु पाँच करोड बजेट छुट्याएर काम भइरहेको धारणा राखे । महर्जनले विपद् जोखिम न्यूनीकरणका लागि पाँच वटा डुङ्गा खरिद गर्न लागिएको जनाए ।
अहिले पाटन क्षेत्रमा धेरै नै ट्राफिक चाप बढेकाले दमकल समेत सहज रुपमा आवतजावत गर्न कठिन भएको उनले बताए । महर्जनले विपद् न्यूनीकरणका क्षेत्रमा सक्रिय भएर लागेपनि महानगरलाई कानूनी जटिलताका कारण काम गर्न कठिन भएको धारणा राखे ।
उनले प्रयाप्त स्रोत साधन हुँदाहुँदै पनि जनशक्ति दक्ष नहुँदा विपद् व्यवस्थापनमा समस्या भएकाले महानगरका नगरप्रहरीलाई लक्षित गरेर विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम दिइएको जानकारी दिए ।