मोरङ – राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले स्थानीय निकायको कानुन, नीतिनिर्माण र बजेट निर्माणमा देखिएका समस्या समाधानमा सङ्घीय सरकारलाई राष्ट्रियसभाले ध्यानाकर्षण गराउने बताएका छन् ।
सङ्घीय संसद् राष्ट्रियसभा सचिवालय काठमाडौँद्वारा आज यहाँ आयोजित राष्ट्रियसभाका सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष एवं उपाध्यक्षबीचको समन्वय बैठक एवं अन्तरक्रियामा उनले सङ्घीयता कार्यान्वयन गर्ने क्रममा केही समस्या देखिएकाले राष्ट्रियसभाको पूर्ण बैठकले यसबारे छलफल गरी निर्णय गर्ने बताए।
पूर्वगृहमन्त्रीसमेत रहेका नेता सिटौलाले संविधानअनुसार तीन तहको सरकार निर्माण भएको र स्थानीय निकायले समग्र रूपमा जनताको हितमा काम गर्नुपर्नेमा जोड दिए।
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम ग्याल्जेन शेर्पाले स्थानीय तहमा देखिएका समस्या, कानुन कार्यान्वयनलगायतका विषयमा प्राप्त सुझावलाई कार्यान्वयनतर्फ लग्ने विचार राखे ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता गोपीबहादुर सार्की अछामीले कानुन निर्माणमा तीन तहको क्षेत्राधिकार र हालको अवस्था, प्रशासनिक सङ्घीयता र जनशक्ति व्यवस्थालगायतका विषयमा जानकारी लिनु कार्यक्रमको उद्देश्य रहेको बताए ।