काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारे अनुसन्धान र छानबिन गरी कारबाही गर्न अख्तियारलाई लेखी पठाउने निर्णय गरेको छ ।
सिंहदरबारमा बुधबार बसेको बैठकले उपसमितिको प्रतिवेदन ग्रहण गर्दै प्रतिवेदनका विषयवस्तु र विमानस्थलबारे उठेका भ्रष्टचारका विषयमा अनुसन्धान र छानबिन गरी कारबाही गर्न अख्तियारलाई लेखी पठाउने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।
उपसमितिको प्रतिवेदनमा विमानस्थल निर्माण गर्दा ठेक्का प्रक्रियाको प्रारम्भदेखि नै अनियमितता र भ्रष्टचार भएको उल्लेख गरिएको छ भने निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले पनि व्यापक अनियमितता भएको औल्याइएको छ । प्रतिवेदनमा रहेका विषयहरुलाई आवश्यक यथाशिघ्र अध्ययन, अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाउने गरी अख्तियारमा पठाइने उनले बताए ।
बैठकमा एमाले सांसद योगेश भट्टराईले उपसमितिको प्रतिवेदनप्रति असहमति जनाएका छन् । उनले भ्रष्टाचारको कुरा आएपछि पोखरा विमानस्थल निर्माणका विषयमा अख्तियारले अनुसन्धान गर्नुपर्ने उल्लेख गरे । उनले तत्कालीन पर्यटनमन्त्रीको हैसियतमा अख्तियारले आफुमाथि छानविन गरे बयान दिन जाने स्पष्ट पारे ।
त्यस्तै कांग्रेस सांसद अर्जुन नरसिंह केसीले उपसमितिको प्रतिवेदनमा कुनै पूवाग्रह नरहेको भन्दै यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
बैठकमा उपसमितिको प्रतिवेदनका बिषयमा सांसदहरुबीच विवाद समेत भएको थियो । उपसमिति संयोजक राजेन्द्र लिङ्देनले प्रतिवेदन तयार पार्दा कुनै पूर्वाग्रह नराखिएको र अध्ययनको क्रममा सबै प्रक्रिया पूरा गरिएको बताए ।